काठमाडौं । सुनसरीको कप्तानगञ्जमा आइतबार भएको हिन्दू–मुस्लिम झडपपछि उत्पन्न सुरक्षा अवस्थाबारे प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्। छलफलका क्रममा प्रधानमन्त्रीले विशेषगरी घटनामा गोली चल्नुको कारणबारे पटक–पटक जिज्ञासा राखेका छन्।
प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) नारायणदत्त पौडेललगायत सुरक्षा निकायका प्रमुख सहभागी थिए।
बैठकमा सहभागी एक स्रोतका अनुसार प्रधानमन्त्री शाहले सुनसरी घटनाको समग्र अवस्थाभन्दा पनि गोली किन चल्यो र कसरी चल्यो भन्ने विषयमा बढी चासो दिएका थिए। उनले सुरक्षा प्रमुखहरूसँग उक्त विषयमा बारम्बार प्रश्न गरे पनि स्पष्ट जवाफ प्राप्त हुन सकेन।
बैठकमा सुनसरी घटनासँगै मिटरब्याज पीडितको आन्दोलन, दुर्गा प्रसाईंको मार्चपास, चिकित्सकहरूको आन्दोलन तथा शैक्षिक परामर्श (एजुकेशन कन्सल्टेन्सी) व्यवसायीहरूको आन्दोलनलगायत समसामयिक सुरक्षा चुनौतीबारे पनि छलफल भएको थियो।
प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा व्यवस्थापनका लागि सुरक्षा निकायले आवश्यक कार्ययोजना बनाउन स्वतन्त्र रहेको उल्लेख गर्दै सरकारले त्यसमा हस्तक्षेप नगर्ने बताएका थिए। तर सुनसरी घटनामा गोली चलाइएको विषयमा भने उनले निरन्तर चासो राखेको बैठकमा सहभागी स्रोतले जनाएको छ।
छलफलका क्रममा प्रहरी महानिरीक्षक कार्कीले गोली चल्नु, मानवीय क्षति, आगजनी तथा विभिन्न व्यक्तिमाथि भएको दुर्व्यवहारलगायतका घटनाबारे अनुसन्धान भइरहेको जानकारी गराएका थिए। तर प्रधानमन्त्रीले गोली चलाउने व्यक्ति र त्यसको परिस्थितिबारे थप विवरण खोजेका थिए।
सुरक्षा स्रोतका अनुसार भीड नियन्त्रणका क्रममा आदेशबमोजिम बल प्रयोग हुने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै सुरक्षा प्रमुखहरूले आदेश दिने तथा कार्यान्वयन गर्ने अधिकारीको नाम र दर्जाबारे सोधिएको विषयप्रति असन्तुष्टि जनाएका छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण