logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन: सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन: सामाजिक सद्भाव कायम राख्न सबैसँग आग्रह


  • बिहिबार, साउन १४ २०८३
  • 56
    SHARES

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिराहालगायत क्षेत्रमा भएका पछिल्ला घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशवासीका नाममा विशेष सम्बोधन गरेका छन्। उनले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।

    राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित स्वास्थ्य निकायलाई आवश्यक निर्देशन दिइएको उनले बताएका छन्।

    प्रधानमन्त्रीले घटनाको निष्पक्ष र पारदर्शी छानबिनका लागि गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको जानकारी दिँदै दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे।

    ‘घटनाको छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। दोषीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिन्छ,’ उनले भने।

    प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा अवस्था थप प्रभावकारी बनाउन राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट आवश्यक निर्णय भइसकेको जानकारी दिए। घटनाको स्थलगत अनुगमन तथा पीडित परिवारसँग भेटघाट गर्न गृहमन्त्री सुदन गुरुङ प्रभावित क्षेत्रमा पुगिसकेको पनि उनले बताए।

    सम्बोधनका क्रममा प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत अपुष्ट सूचना, अफवाह र घृणा फैलाउने सामग्री प्रसारण नगर्न नागरिकलाई आग्रह गरे। आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न अनुरोध गर्दै उनले सामाजिक सद्भाव बिथोल्ने र हिंसा भड्काउने गतिविधिविरुद्ध सरकारले कडा कदम चाल्ने चेतावनी दिए।

    ‘संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन। सबै धर्मको मूल सार करुणा, दया र शान्ति नै हो,’ प्रधानमन्त्री शाहले भने।

    नेपालको संविधानले सुनिश्चित गरेको धार्मिक तथा सांस्कृतिक स्वतन्त्रताको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कुनै पनि प्रकारको प्रतिशोध वा हिंसाको बाटो नअपनाउन सबै पक्षलाई आग्रह गरे।

    सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले मैथिली भाषामा समेत सन्देश दिँदै नागरिक समाज, धार्मिक अगुवा, जनप्रतिनिधि र राजनीतिक दलहरूलाई धैर्य, संयम र संवादमार्फत सामाजिक सद्भाव कायम राख्न आह्वान गरे।

    उनले नेपालको सबैभन्दा ठूलो शक्ति राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव भएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा सबै नेपाली जिम्मेवार, संयमित र एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

    यस्तो छ पूर्णपाठ

    नमस्कार। आदरणीय बुवाआमा, दिदीबहिनी तथा दाजुभाइहरु। म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईहरु सामु उपस्थित भएको छु। केही दिन अघि सुनसरीको देवानगन्ज, सिरहा लगायतका स्थानमा भएको दुखद घटना र त्यसपछिका केही जिल्लाहरुमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रुपमा गम्भीर र संवेदनशील छ। यस दुखद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरु जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोक सन्तप्त परिवारजनहरुमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु।

    घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। घाइतेहरुको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाई हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरुलाई स्पष्ट निर्देशन दिइसकेको छ।

    घटना भए लगतै सबै सुरक्षा निकायहरुले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रुपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भएपनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ।

    परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरु, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरुसँग निरन्तर संवाद भइरहेको छ। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयम् सो स्थानमा पुगिसक्नुभएको छ। साथै देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरु समेत गरिसकिएको छ।

    यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदाय बीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न, नगराउन अनुरोध गर्दछु। साथै सरकारी निकायहरुबाट जारी भएका आधिकारिक तथ्य र सूचना मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु।

    प्रत्येक नागरिकको जिउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो। आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ। प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरु अहोरात्र खटिनेछन्। शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौं पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबलाउने कुनै पनि क्रियाकलाप प्रति सरकार पूर्ण रुपमा सचेत छ र यस गतिविधिमाथि कडा कदम चालिने छन्।

    नेपालको संविधानले प्रत्येक नागरिकलाई आ-आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ। यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध छ। धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो। संसारको कुनै
    पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन। सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो।

    देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन।

    आदरणीय बुवाआमा, दिदीबहिनी तथा दाजुभाइहरु, हाम्रो इतिहास साक्षी छ कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबै भन्दा ठुलो शक्ति बनेका छन्। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ।

    (मैथिली भाषामा): हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार संचार के माध्यम सब के धैर्यता आ संयमता अपनाके शान्ति, सदभाव, भाइचारा आ राष्ट्रिय एकता कायम राखके लेल सरकार के तर्फ से हार्दिक अपील करहल छी। धन्यवाद।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page