logo

शनिबार, साउन १६ २०८३

kantipurpationlinetv

२०८३ साउन १६ शनिबार

गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति


  • शनिबार, साउन १६ २०८३
  • 56
    SHARES

    काठमाडौं । सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२, तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र नेपाल सरकारबीच आठबुँदे सहमति भएको छ।

    गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच भएको छलफलपछि परिवारले अघि सारेका पाँचबुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समावेश गर्दै आठबुँदे समझदारी गरिएको हो।

    सहमतिअनुसार घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरिने, गणेश यादवलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने तथा परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइनेछ।

    त्यस्तै, मृतकका दाइ र बहिनीको निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवाको व्यवस्था, गणेश यादवको सम्झनामा स्मृति पार्क निर्माण, उनका बुबाआमाको निःशुल्क स्वास्थ्य उपचार तथा शनिबार नै शव बुझेर दाहसंस्कार गर्ने सहमति भएको गृहमन्त्री गुरुङले जानकारी दिए। दाहसंस्कारका लागि आवश्यक सम्पूर्ण खर्च पनि सरकारले व्यहोर्ने सहमतिमा उल्लेख छ।

    शवको अवस्थाबारे जानकारी दिँदै गृहमन्त्री गुरुङले पोस्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको बताए। अनुसन्धान प्रक्रियालाई सहज बनाउन शव त्यहाँ राखिएको र शनिबार हेलिकोप्टरमार्फत सिरहा ल्याई परिवारलाई जिम्मा लगाइने उनले जानकारी दिए।

    गृहमन्त्री गुरुङका अनुसार सुनसरी र सिरहाका घटनाको सत्यतथ्य पत्ता लगाउन अनुभवी अनुसन्धानकर्ता तथा विज्ञहरू सम्मिलित स्वतन्त्र छानबिन समिति गठन गरिएको छ।

    सरकारले घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्ने, पीडित परिवारलाई न्याय दिलाउने तथा दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page