logo

बुधबार, साउन २० २०८३

kantipurpationlinetv

२०८३ साउन २० बुधबार

कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला

कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला


  • मंगलबार, साउन १९ २०८३
  • 8K
    SHARES

    लमजुङ । सामुदायिक विद्यालयको शिक्षण सिकाइलाई थप प्रभावकारी, बालमैत्री र सिर्जनशील बनाउने उद्देश्यले मर्स्याङ्दी गाउँपालिकाले पूर्वप्राथमिक तथा प्राथमिक तहका शिक्षकहरूका लागि ‘शिक्षण सिकाइमा कथावाचन’ सम्बन्धी दुईदिने कार्यशाला सञ्चालन गरेको छ।

    गाउँपालिकाको आयोजना तथा ई.सी.ई.पी. (Early Childhood Education Practitioners) नेपाल फाउन्डेसनको सहजीकरणमा सुरु भएको कार्यशालाको पहिलो दिन सोमबार सम्पन्न भएको हो। गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयका पूर्वप्राथमिक तथा प्राथमिक तहका शिक्षकहरू कार्यशालामा सहभागी भएका छन्।

    राष्ट्रकवि माधवप्रसाद घिमिरे बैठक कक्षमा आयोजित कार्यशालाको उद्घाटन गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, ई.सी.ई.पी. नेपाल फाउन्डेसनकी क्षेत्रीय कार्यक्रम संयोजक विमला गुरुङ, शिक्षा शाखा प्रमुख बसन्त बरुवाल, जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण प्राविधिक सहायक राजेन्द्रप्रसाद भट्टले गरेका थिए।

    कार्यशालामा कथावाचनलाई शिक्षण सिकाइसँग प्रभावकारी रूपमा जोड्ने विधि, बालबालिकाको भाषा विकास, सिर्जनात्मक सोच, कल्पनाशक्ति तथा कक्षाकोठामा सक्रिय सहभागिता बढाउने उपायबारे प्रशिक्षण दिइएको छ। प्रशिक्षक विमला गुरुङ, सरिता के.सी. र शर्मिला थापाले कथावाचनको शैक्षिक महत्त्वसँगै यसको व्यवहारिक प्रयोगबारे सहभागी शिक्षकलाई प्रशिक्षण दिएका थिए।

    गाउँपालिकाले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि शिक्षकको क्षमता विकासलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। कथावाचनजस्ता बालमैत्री शिक्षण विधिको प्रयोगले विद्यार्थीको सिकाइ उपलब्धि सुधार हुनुका साथै कक्षाकोठालाई थप आकर्षक र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    गाउँपालिकाका अनुसार कार्यशालाको दोस्रो तथा अन्तिम दिनमा कथावाचनका व्यवहारिक अभ्यास, कक्षाकोठामा यसको प्रयोग तथा अनुभव आदानप्रदानका विषयमा प्रशिक्षण सञ्चालन गरिनेछ। शिक्षकहरूले प्राप्त ज्ञान र सीपलाई विद्यालयमा व्यवहारमा उतार्दै विद्यार्थीको सिकाइलाई थप प्रभावकारी बनाउने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page