गोरखा, २४ साउन। विद्यार्थीमा डिजिटल सीप, सिर्जनशील सोच तथा प्रविधिमैत्री क्षमताको विकास गर्ने उद्देश्यले गोरखाको लुईटेलमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी बुटक्याम्प सुरु भएको छ।
पालुङटार नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा बाख पा डिजिटल मार्केट, काठमाडौंको प्राविधिक सहजीकरणमा पालुङटार नगरपालिका–४, लुईटेलस्थित अमर ज्योति जनता माध्यमिक विद्यालयमा बिहीबारदेखि चारदिने बुटक्याम्प सुरु भएको हो। बुटक्याम्प साउन २५ गतेसम्म सञ्चालन हुनेछ।
‘एआई सिकौं, नवप्रवर्तनमा सहभागी बनौं’ भन्ने मूल नारासहित सञ्चालन गरिएको बुटक्याम्पको उद्घाटन पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले गरेका हुन्। उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी., शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मनोज नेपाली सिर्मल तथा विद्यालयका प्रधानाध्यापक माधव राज देवकोटाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा र नवप्रवर्तनमा अग्रसर हुन आग्रह गर्दै शुभकामना व्यक्त गरेका थिए।
बुटक्याम्पमा अमर ज्योति जनता माध्यमिक विद्यालय, भवानी माध्यमिक विद्यालय र मदनेडाँडा माध्यमिक विद्यालयका कम्प्युटर विज्ञान अध्ययनरत करिब ६५ जना विद्यार्थीको सहभागिता रहेको छ। कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) र कृत्रिम बुद्धिमत्ता (एआई) का आधारभूत अवधारणा, व्यवहारिक प्रयोग, डिजिटल नवप्रवर्तन, समस्या समाधानका आधुनिक विधि तथा जिम्मेवार प्रविधि प्रयोगसम्बन्धी प्रशिक्षण प्रदान गरिने जनाइएको छ।
सूचना अधिकारी सोम प्रसाद मुडवरीका अनुसार विद्यालय तहदेखि नै विद्यार्थीलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै उनीहरूको डिजिटल सीप, विश्लेषणात्मक क्षमता तथा नवप्रवर्तनमुखी सोचको विकास गर्ने उद्देश्यले बुटक्याम्प सञ्चालन गरिएको हो। यस्ता कार्यक्रमले विद्यार्थीलाई भविष्यका चुनौती सामना गर्न सक्षम, प्रविधिमैत्री र प्रतिस्पर्धी जनशक्ति निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
नेपालमूलकी मेनुका गौतम ‘कियारा’लाई थाइल्यान्डमा सम्मान, अब मिस युनिभर्स थाइल्यान्डमा प्रतिस्पर्धा
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला
-
कक्षा १२ सम्मका विद्यार्थीलाई हिमालयन कम्युनिटी प्रोजेक्टको नि:शुल्क हाइकिङ