logo

शुक्रबार, भाद्र २६ २०८३

kantipurpationlinetv

२०८३ भाद्र २६ शुक्रबार

नगर प्रहरीका तीन अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान, सेवा र नागरिकप्रति उत्तरदायी बन्न निर्देशन

नगर प्रहरीका तीन अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान, सेवा र नागरिकप्रति उत्तरदायी बन्न निर्देशन


  • बुधबार, साउन २० २०८३
  • 2.6K
    SHARES

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पदोन्नति भएका नगर प्रहरीका तीन अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ। नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएका शिवलाल पौडेल र पूर्णचन्द्र भट्ट तथा नगर प्रहरी नायव उपरीक्षकमा पदोन्नति भएका रामेश्वर उपाध्यायलाई बुधबार आयोजित समारोहमा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

    काठमाडौँ प्लाजामा आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, सुशासन समितिका संयोजक ख्यामराज तिवारी, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ तथा नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीको उपस्थितिमा पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह सुशोभन गरिएको थियो।

    महानगरपालिकाको साउन १९ गते बसेको ५५औँ कार्यपालिका बैठकले उनीहरूलाई माथिल्लो दर्जामा कायममुकायम मुकरर गर्ने निर्णय गरेको थियो।

    समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले पदोन्नतिसँगै जिम्मेवारी पनि थपिएको उल्लेख गर्दै नगर प्रहरीलाई कानुन कार्यान्वयनमा दृढ र नागरिकसँगको व्यवहारमा संवेदनशील बन्न आग्रह गरिन्। महानगरपालिकाको छवि नगर प्रहरीको व्यवहारबाट प्रतिबिम्बित हुने भएकाले उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

    ‘नगर प्रहरीले मानवीय संवेदना र मानवअधिकारप्रति प्रतिबद्ध रहँदै सेवा प्रवाह गर्नुपर्छ। कानुन कार्यान्वयनमा कडा तर नागरिकसँगको व्यवहारमा नरम हुनुपर्छ। विवाद सिर्जना गरेर होइन, नागरिकको विश्वास जितेर सेवा दिनुहोस्,’ डंगोलले भनिन्।

    उनले महानगरपालिकाले नगर प्रहरीको वृत्ति विकास र क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्ने बताउँदै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आग्रह गरिन्।

    प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले नगर प्रहरी सेवामा तहगत पदपूर्तिका लागि समिति गठन भइसकेको जानकारी दिँदै वृत्ति विकासको प्रक्रिया अघि बढिरहेको बताए। नगर प्रहरी महानगरपालिकाको अभिन्न अंग भएकाले जनसरोकारका विषयमा जिम्मेवार र व्यावसायिक भूमिका निर्वाह गर्नुपर्ने उनले उल्लेख गरे।

    सुशासन समितिका संयोजक ख्यामराज तिवारीले नगर प्रहरी नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने निकाय भएकाले प्राप्त जनविश्वासलाई थप सुदृढ बनाउने गरी काम गर्नुपर्ने बताए। उनले नगर प्रहरीको मनोबल र सक्रियताले सहरी व्यवस्थापन तथा नागरिक सेवाको प्रभावकारिता बढ्ने विश्वास व्यक्त गरे।

    दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा वडा नं. २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी, वडा नं. १० का सदस्य सतिश तण्डुकार, महानगरका विभागीय प्रमुख तथा नगर प्रहरीका अधिकारीहरूको उपस्थिति रहेको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page