logo

बुधबार, साउन २० २०८३

kantipurpationlinetv

२०८३ साउन २० बुधबार

ग्यास आपूर्तिमा समस्या बढेपछि सक्रिय बन्यो महानगर प्रहरी, वितरण व्यवस्थापनमा सहजीकरण गर्ने

ग्यास आपूर्तिमा समस्या बढेपछि सक्रिय बन्यो महानगर प्रहरी, वितरण व्यवस्थापनमा सहजीकरण गर्ने


  • बुधबार, साउन २० २०८३
  • 1.5K
    SHARES

    काठमाडौँ । बजारमा खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै उपभोक्ताबाट गुनासो बढ्न थालेपछि काठमाडौँ महानगर प्रहरी बल वितरण व्यवस्थापनमा सहजीकरणका लागि सक्रिय भएको छ।

    महानगर प्रहरी बलले ग्यास डिपोमा उपलब्ध ग्यासको सन्तुलित वितरण सुनिश्चित गर्न, उपभोक्ताको पहुँच सहज बनाउन तथा सुरक्षा मापदण्डको अनुगमन गर्न थालेको जनाएको छ। लामो समयसम्म ग्यास नपाउने, पहुँच हुनेले मात्र ग्यास पाउने तथा विद्यार्थीलगायत सर्वसाधारणले ग्यास पाउन कठिनाइ भोगिरहेको गुनासो आएपछि अनुगमन सुरु गरिएको हो।

    महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले बजारमा उपलब्ध ग्यास सबै उपभोक्तासम्म समान रूपमा पुग्ने वातावरण बनाउन प्रहरी बलले सहजीकरण गर्ने बताए।

    ‘हामी ग्यास डिपोमा उपलब्ध ग्यासको वितरण प्रणाली व्यवस्थित बनाउन सहजीकरण गर्छौँ। साथै सिलिन्डरको म्याद, तौल, अग्नि नियन्त्रण उपकरण (फायर एक्स्टिङ्ग्विसर) को अवस्था, भण्डारण र ढुवानीको सुरक्षा मापदण्डलगायत विषय पनि अनुगमन गर्नेछौँ,’ उनले भने।

    उनका अनुसार महानगरका चारवटै क्षेत्रबाट नियमित रूपमा ग्यास डिपोको अनुगमन तथा सहजीकरण गरिनेछ।

    यस अभियानअन्तर्गत बुधबार अनामनगर क्षेत्रका विभिन्न ग्यास डिपोको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा साना डिपोमा ग्यास उपलब्ध भए पनि ठूला डिपोमा उपभोक्ताको अत्यधिक भीड देखिएको महानगर प्रहरीले जनाएको छ।

    ठूला डिपोका व्यवसायीले अधिकांश उपभोक्ता साना डिपोमा ग्यास नपाइने अनुमान गरेर सिधै ठूला डिपोमा आउने गरेकाले अनावश्यक चाप सिर्जना भएको बताएका छन्। केही उपभोक्ताले भने बिहानैदेखि लाइनमा बस्नुपरेको र केही व्यक्तिले एकैपटक धेरै सिलिन्डर लैजाने गरेको आशंका व्यक्त गरेका छन्।

    यता नेपाल आयल निगमले भने विगतकै परिमाणमा ग्यास आपूर्ति भइरहेको जनाएको छ। निगमका अनुसार आपूर्तिमा कमी नभए पनि उपभोक्ताको माग एक्कासि बढेका कारण बजारमा असन्तुलन देखिएको हो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page