logo

बुधबार, साउन २० २०८३

kantipurpationlinetv

२०८३ साउन २० बुधबार

गोरखामा उत्कृष्ट सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूह सम्मानित

गोरखामा उत्कृष्ट सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूह सम्मानित


  • बुधबार, साउन २० २०८३
  • 1K
    SHARES

    गोरखा । डिभिजन वन कार्यालय, गोरखाले आर्थिक वर्ष २०८२/८३ का उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूह तथा कबुलियती वन उपभोक्ता समूहलाई नगद पुरस्कार र कदरपत्रसहित सम्मान गरेको छ।

    बुधबार डिभिजन वन कार्यालय, गोरखाको सभाहलमा आयोजित ‘उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूह तथा कबुलियती वन उपभोक्ता समूह पुरस्कार वितरण कार्यक्रम’ मा वन संरक्षण, व्यवस्थापन तथा दिगो उपयोगमा उल्लेखनीय योगदान पुर्‍याएका समूहहरूलाई सम्मान गरिएको हो।

    डिभिजन वन कार्यालय, गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मनबहादुर थापा मगर प्रमुख अतिथिका रूपमा सहभागी थिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले वन संरक्षण, जैविक विविधताको संरक्षण तथा वनको दिगो व्यवस्थापनमा सामुदायिक र कबुलियती वन उपभोक्ता समूहले खेलेको भूमिकाको प्रशंसा गरे। उनीहरूले आगामी दिनमा वन डढेलो नियन्त्रण, प्राकृतिक स्रोत–साधनको संरक्षण तथा वनको प्रभावकारी व्यवस्थापनमा अझ सक्रिय भूमिका निर्वाह गर्न सबै उपभोक्ता समूहलाई आग्रह गरे।

    सामुदायिक वन उपभोक्ता समूहतर्फ गोरखा नगरपालिका–१० स्थित कुबाडी सामुदायिक वन उपभोक्ता समूह प्रथम हुँदै ६ हजार रुपैयाँसहित सम्मानित भएको छ। शहीदलखन गाउँपालिका–१ को रामलक्ष्मण सामुदायिक वन उपभोक्ता समूह द्वितीय र पालुङटार नगरपालिका–६ को भूमिस्थान सामुदायिक वन उपभोक्ता समूह तृतीय घोषित भए। धार्चे गाउँपालिका–७ को तरम्चा सामुदायिक वन उपभोक्ता समूहले सान्त्वना पुरस्कार प्राप्त गरेको छ।

    त्यसैगरी, कबुलियती वन उपभोक्ता समूहतर्फ गण्डकी गाउँपालिका–२ को विच्छेगौहा कबुलियती वन उपभोक्ता समूह प्रथम भएको छ। शहीदलखन गाउँपालिका–३ को कलेरी कबुलियती वन उपभोक्ता समूह द्वितीय तथा अजिरकोट गाउँपालिका–४ को गोगनपानी पन्धेगटोल कबुलियती वन उपभोक्ता समूह तृतीय घोषित भएका छन्। विजेता समूहहरूलाई क्रमशः ६ हजार, ४ हजार र ३ हजार रुपैयाँसहित कदरपत्र प्रदान गरिएको थियो।

    कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, वनकर्मी तथा सामुदायिक एवं कबुलियती वन उपभोक्ता समूहका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    डिभिजन वन कार्यालय, गोरखाले वन संरक्षण र दिगो व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने उपभोक्ता समूहलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष उत्कृष्ट समूह छनोट गरी सम्मान गर्दै आएको जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page