पोखरा, २० साउन । कास्कीको पर्यटकीय गन्तव्य मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन जना युवक सम्पर्कविहीन भएका छन्। उनीहरू माछापुच्छ्रे गाउँपालिका–९ अन्तर्गत बादलडाँडा क्षेत्रको जंगलमा सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
सम्पर्कविहीन हुनेमा पोखरा महानगरपालिका–१४ खसिबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र पासवानका अनुसार बुधबार बिहान करिब ८ बजेसम्म उनीहरूसँग मोबाइल सम्पर्क भएको थियो। त्यसपछि भने उनीहरूको मोबाइल फोन बन्द रहेको र सम्पर्क हुन नसकेको उनले बताए।
‘उक्त क्षेत्रमा मोबाइल नेटवर्कको पहुँच कमजोर रहेकाले लोकेसन ट्र्याक गर्न समेत कठिनाइ भइरहेको छ। उनीहरू बाटो बिराएर जंगलमा अलपत्र परेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ,’ डीएसपी पासवानले भने।
प्रहरीले बिहान करिब ११ बजे उनीहरू सम्पर्कविहीन भएको सूचना प्राप्त गरेलगत्तै खोजी तथा उद्धार टोली परिचालन गरेको जनाएको छ। प्रहरीसँगै स्थानीय पर्यटन व्यवसायी र स्थानीयवासीको टोली पनि खोजी कार्यमा जुटेको छ।
प्रहरीले मौसम र भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सम्भावित स्थानहरूमा खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
दोस्रो राष्ट्रिय कोदो दिवस २०८३ भव्य रूपमा सम्पन्न
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
कथावाचनमार्फत शिक्षण प्रभावकारी बनाउन मर्स्याङ्दीमा शिक्षकका लागि दुईदिने कार्यशाला