काठमाडौं, २२ साउन । तारकेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम ‘तारकेश्वर कप–२०८३’ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि मिलन धर्मस्थली माध्यमिक विद्यालयले जितेको छ।
शुक्रबार टिप–टो फुटसलमा सम्पन्न फाइनल खेलमा सिर्जना ज्ञानसागर माध्यमिक विद्यालयलाई पराजित गर्दै मिलन धर्मस्थलीले प्रतियोगिताको पहिलो संस्करणको उपाधिमाथि कब्जा जमाएको हो।
उपाधिसँगै मिलन धर्मस्थलीले नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता सिर्जना ज्ञानसागर माध्यमिक विद्यालयले ५ हजार रुपैयाँ तथा तेस्रो स्थान हासिल गरेको ग्राम सेवा माध्यमिक विद्यालयले ३ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको नगरपालिकाले जनाएको छ।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ मिलन धर्मस्थलीका तेन्जिङ तामाङ सर्वोत्कृष्ट खेलाडी (एमभीपी) र सर्वाधिक गोलकर्ताका रूपमा सम्मानित भए। सिर्जना ज्ञानसागरका प्रिन्स थापा मगर उदयीमान खेलाडी घोषित हुँदा मिलन धर्मस्थलीकै शशी तामाङ उत्कृष्ट गोलरक्षक तथा प्रविण गुरुङ उत्कृष्ट प्रशिक्षक घोषित भए। व्यक्तिगत विधाका विजेताले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगिताको समापन समारोहमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सिर्जना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, वडा नं. ११ का अध्यक्ष कविराज बस्नेत, शिक्षा शाखा प्रमुख सुधिनराज बुढाथोकीलगायत जनप्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, प्रशिक्षक, खेलाडी, खेलप्रेमी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो।
समारोहमा नगर प्रमुख महर्जन, उपप्रमुख अर्याल तथा प्रमुख प्रशासकीय अधिकृत लम्सालले विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए।
नगरपालिकाले विद्यालयस्तरमै खेल प्रतिभाको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवर्द्धन तथा विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता र खेल संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जनाएको छ। प्रतियोगितामा नगरभित्रका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहेको थियो।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
कलाकारितापछि राजनीतिमा प्रकाश कटुवाल, कांग्रेस महाधिवेशन प्रतिनिधिमा भिड्दै
-
दोहोरी गीत प्रतिष्ठान उपत्यका समितिद्वारा संगीत प्रशिक्षण कक्षा शुभारम्भ
-
रसुवा बाढीपीडित १५० परिवारलाई नेपाल युथ फाउन्डेसनको किचन सेट