logo

शनिबार, साउन ३० २०८३

kantipurpationlinetv

२०८३ साउन ३० शनिबार

परिवर्तन आत्मसात् गर्दै अघि बढ्न युवालाई मन्त्री श्रेष्ठको आग्रह

परिवर्तन आत्मसात् गर्दै अघि बढ्न युवालाई मन्त्री श्रेष्ठको आग्रह


  • शनिबार, साउन ३० २०८३
  • 1.3K
    SHARES

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बदलिँदो समय र प्रविधिसँगै आफूलाई अनुकूलन गर्दै युवा पुस्ता अघि बढ्नुपर्ने बताएका छन्।

    महर्षि कलेज, सामाखुसीले आयोजना गरेको ‘स्वागत, अभिमुखीकरण तथा सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले युवा पुस्ताको ऊर्जा, क्षमता र सिर्जनशीलताबाट समृद्ध मुलुक निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

    सूचना प्रविधिले विश्वलाई एकै ठाउँमा जोड्दै लगेको उल्लेख गर्दै उनले प्रविधिको उच्चतम र सकारात्मक प्रयोगमार्फत देश निर्माणमा योगदान गर्न युवालाई आग्रह गरे। उनले शिक्षा हासिल गर्नुका साथै विद्यार्थीले आफ्नो मानसिक स्वास्थ्यलाई समेत उत्तिकै प्राथमिकता दिनुपर्ने बताए।

    मन्त्री श्रेष्ठले विश्व तीव्र गतिमा परिवर्तन भइरहेको अवस्थामा नयाँ प्रविधि र बदलिँदो परिवेशसँग आफूलाई अनुकूलन गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए।

    कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंका प्रमुख सुरेश जोशीले छोटो समयमै महर्षि कलेजले नेपालको शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे। शिक्षा व्यक्तिभित्र रहेको प्रतिभालाई पहिचान गरी उजागर गर्ने माध्यम भएको उनको भनाइ थियो।

    कलेज सञ्चालक समितिका अध्यक्ष एवं पूर्वसांसद प्रकाशचन्द्र दवाडीले दुई दशकको इतिहास बोकेको महर्षि कलेजले नेपालको शिक्षा क्षेत्रको विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको बताए।

    कार्यक्रममा विद्यार्थीलाई अभिमुखीकरण प्रदान गरिएको थियो। राष्ट्रिय कलाकार राजु परियार, रवि कार्कि, बेलिमाया पुलामी, रायन बस्याल, हरि भट्टलगायतले सांस्कृतिक प्रस्तुति दिएका थिए।

    कार्यक्रमले विद्यार्थीलाई शिक्षा र सीपसँगै प्रविधिको सदुपयोग, सिर्जनशीलता, मानसिक स्वास्थ्य तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै अघि बढ्न प्रेरित गरेको आयोजकले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page