logo

आइतबार, साउन ३१ २०८३

kantipurpationlinetv

२०८३ साउन ३१ आइतबार

सप्तपाताल पोखरी पुनर्निर्माणपछि चिरिबाबुको प्रतिबद्धता : सार्वजनिक जग्गा संरक्षणमा सम्झौता हुँदैन

सप्तपाताल पोखरी पुनर्निर्माणपछि चिरिबाबुको प्रतिबद्धता : सार्वजनिक जग्गा संरक्षणमा सम्झौता हुँदैन


  • शनिबार, साउन ३० २०८३
  • 84
    SHARES

    ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्रका सार्वजनिक तथा ऐलानी जग्गा कुनै व्यक्ति वा संस्थालाई हस्तान्तरण नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    शनिबार लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरी पुनर्निर्माणपछि आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै महर्जनले सार्वजनिक जग्गा र सम्पदा संरक्षणलाई महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए।

    सम्पदा संरक्षक पूर्ण स्थापितको पहलमा सप्तपाताल पोखरी पुनर्निर्माण गरी आकर्षक स्वरूपमा ल्याउन सफल भएको उनले बताए। आफू मेयरमा निर्वाचित भएपछि ऐलानी तथा पर्ती जग्गा कसैलाई नदिने ‘भीष्म प्रतिज्ञा’ गरेको उल्लेख गर्दै महर्जनले राजनीतिक दबाब आए पनि उक्त प्रतिबद्धताबाट पछि नहटेको बताए।

    महानगरपालिकाले हालसम्म एक आना सार्वजनिक जग्गासमेत कसैलाई नदिएको दाबी गर्दै उनले आगामी दिनमा पनि सार्वजनिक जग्गा हस्तान्तरण नगर्ने स्पष्ट पारे।

    ‘ज्यान गए पनि सार्वजनिक जग्गा हस्तान्तरण गर्दिनँ,’ महर्जनले भने।

    ललितपुर महानगर क्षेत्रमा एक आना जग्गाको मूल्य करोडौँ रुपैयाँसम्म पर्ने उल्लेख गर्दै उनले जसले माग्यो उसैलाई सार्वजनिक जग्गा उपलब्ध गराउन नसकिने बताए। सार्वजनिक सम्पत्ति संरक्षण गर्नु महानगरको दायित्व भएको उनको भनाइ थियो।

    महर्जनले सार्वजनिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्दै ललितपुरलाई बस्नयोग्य र ‘स्मार्ट सिटी’का रूपमा विकास गर्ने योजनाअनुसार महानगरपालिका अघि बढिरहेको बताए।

    लगनखेलस्थित ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण सप्तपाताल पोखरीलाई महानगरपालिकाले पुनर्निर्माण गरी पार्कसहित सर्वसाधारणका लागि खुला गरेको हो। पोखरी पुनर्निर्माणसँगै ऐतिहासिक सम्पदा संरक्षण र सार्वजनिक क्षेत्रको सौन्दर्यीकरणमा समेत सहयोग पुगेको महानगरपालिकाले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page