logo

बुधबार, भाद्र ३ २०८३

kantipurpationlinetv

२०८३ भाद्र ३ बुधबार

प्रहरी कर्मचारीले वाणिज्य बैंकबाट सहुलियत ब्याजदरमा ५० लाखसम्म कर्जा पाउने

प्रहरी कर्मचारीले वाणिज्य बैंकबाट सहुलियत ब्याजदरमा ५० लाखसम्म कर्जा पाउने


  • मंगलबार, भाद्र २ २०८३
  • 14.4K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट सहुलियत ब्याजदरमा ५० लाख रुपैयाँसम्म कर्जा पाउने भएका छन्। नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच तलबी बचत खाता सञ्चालन तथा कर्जा सुविधासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै उक्त सुविधा निरन्तरता पाएको हो।

    नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले समझदारीपत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका छन्।

    विगत १० वर्षदेखि राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरीका कर्मचारीको तलबी बचत खाता सञ्चालन गर्दै आएको थियो। यसअघिको सम्झौताको अवधि समाप्त भएपछि सेवा तथा कर्जा सुविधालाई थप पाँच वर्ष निरन्तरता दिने गरी नयाँ समझदारी गरिएको हो।

    समझदारीअनुसार बहालवाला प्रहरी कर्मचारीका साथै अवकाशप्राप्त, अमर÷शहीद तथा अशक्त प्रहरी कर्मचारीले समेत बैंकका तोकिएका मापदण्ड पूरा गरी विभिन्न कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। पेन्सन खाता राष्ट्रिय वाणिज्य बैंकमै सञ्चालन गर्ने अवकाशप्राप्त, अमर÷शहीद तथा अशक्त प्रहरी कर्मचारीका लागि समेत कर्जा सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ।

    सम्झौताअनुसार पेशाकर्मी सरल कर्जा अधिकतम १५ लाख रुपैयाँ र पेन्सनर कर्जा अधिकतम ५ लाख रुपैयाँ उपलब्ध हुनेछ। त्यस्तै, नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंकको उपभोक्ता कर्जा निर्देशिकाको अधीनमा रही घर कर्जाअन्तर्गत २० वर्षसम्मका लागि अधिकतम ५० लाख रुपैयाँ कर्जा उपलब्ध गराइनेछ। सवारी साधन खरिदका लागि भने ७ देखि १० वर्षसम्मको अवधिका लागि गाडी कर्जा प्रदान गरिनेछ।

    कर्जा सुविधाअन्तर्गत घर कर्जामा १ प्रतिशत, गाडी कर्जामा १.७५ प्रतिशत र शैक्षिक कर्जामा १ प्रतिशत प्रिमियम ब्याजदर कायम हुने समझदारीमा उल्लेख छ।

    कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सम्झौताले अहोरात्र सेवामा खटिने प्रहरी कर्मचारीलाई थप उत्प्रेरणा र हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे। उनले अवकाशप्राप्त, अमर तथा अशक्त प्रहरी कर्मचारी र उनीहरूका आश्रित परिवारजनले समेत सरल तथा सुलभ कर्जा लगायतका सुविधा प्राप्त गर्ने बताए।

    त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले नेपाल प्रहरी र बैंकबीच विभिन्न चरणमा सहकार्य हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहकार्य र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

    समझदारीअनुसार प्रहरी कर्मचारीका लागि दुर्घटना बीमाको व्यवस्था समेत गरिएको छ। दुर्घटनाका कारण मृत्यु वा पूर्ण अपाङ्गता भएमा ५ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ। दुर्घटनामा घाइते भई उपचार गर्नुपर्ने अवस्थामा बीमा प्राधिकरणबाट जारी निर्देशिकाबमोजिम अस्पताल बसाइ तथा उपचार खर्चको क्षतिपूर्तिलगायतका सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

    उक्त बीमा सुविधाका लागि खातावाला प्रहरी कर्मचारीबाट प्रतिव्यक्ति १०० रुपैयाँ शुल्क लिई बीमा गर्न सकिने समझदारीमा उल्लेख छ।

    नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच भएको नयाँ समझदारीले प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई बैंकिङ सेवा, कर्जा तथा बीमा सुविधामा थप सहजता पुग्ने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page