काठमाडौं । भदौ १० गतेको बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले तत्काल प्रतिव्यक्ति १० लाख रुपैयाँ राहत दिने भएको छ । प्रहरी कर्मचारीबाट राहतस्वरूप संकलित रकमबाट मृतकका परिवारलाई उक्त सहयोग उपलब्ध गराउने निर्णय गरिएको हो ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले रसुवा भोटेकोशी–त्रिशूली बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना र मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । बाढीमा परी हालसम्म सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीको खोजीका लागि परिवारसँग समन्वय गरी विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय पनि गरिएको प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिए ।
त्यस्तै, मृतक प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने, परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम प्रदान गरी रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णय भएको छ । मृतक प्रहरी कर्मचारीका सन्ततिलाई पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म तथा नेपाल प्रहरी आवासीय विद्यालय, साँगा, काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णयसमेत गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा रहेका इप्रका टिमुरे, अप्रचौ पोस्ट मैलुङ, प्रचौ रसुवागढी, प्रचौ स्याफ्रुबेँसी र प्रचौ वेत्रावतीमा कार्यरत प्रहरी कर्मचारीका व्यक्तिगत सामग्रीमा भएको क्षतिका लागि जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरी, नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले एक जना वरिष्ठ प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोकेर दिवंगत, सम्पर्कविहीन तथा घाइते प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई खोजतलास, उपचार तथा आवश्यक सेवा–सुविधा प्राप्तिका लागि सहजीकरण गर्ने व्यवस्था मिलाउने भएको छ ।
बाढीमा परी नेपाल प्रहरीका तीन जना कर्मचारीको मृत्यु भएको छ भने २५ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय कार्यसमितिमा गोरखाका तीनजना
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
परदेशी नेपालीको मन छुने दशैं गीत ‘दशैं आयो तिहारै आयो’ सार्वजनिक
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल