logo

बिहिबार, भाद्र १८ २०८३

kantipurpationlinetv

२०८३ भाद्र १८ बिहिबार

बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, उद्धार कोषमा ४० करोड दिने निर्णय

बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, उद्धार कोषमा ४० करोड दिने निर्णय


  • बुधबार, भाद्र १७ २०८३
  • 77
    SHARES

    काठमाडौं । भदौ १० गतेको बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले तत्काल प्रतिव्यक्ति १० लाख रुपैयाँ राहत दिने भएको छ । प्रहरी कर्मचारीबाट राहतस्वरूप संकलित रकमबाट मृतकका परिवारलाई उक्त सहयोग उपलब्ध गराउने निर्णय गरिएको हो ।

    प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

    बैठकले रसुवा भोटेकोशी–त्रिशूली बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना र मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । बाढीमा परी हालसम्म सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीको खोजीका लागि परिवारसँग समन्वय गरी विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय पनि गरिएको प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिए ।

    त्यस्तै, मृतक प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने, परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम प्रदान गरी रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णय भएको छ । मृतक प्रहरी कर्मचारीका सन्ततिलाई पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म तथा नेपाल प्रहरी आवासीय विद्यालय, साँगा, काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णयसमेत गरिएको छ ।

    बाढी प्रभावित क्षेत्रमा रहेका इप्रका टिमुरे, अप्रचौ पोस्ट मैलुङ, प्रचौ रसुवागढी, प्रचौ स्याफ्रुबेँसी र प्रचौ वेत्रावतीमा कार्यरत प्रहरी कर्मचारीका व्यक्तिगत सामग्रीमा भएको क्षतिका लागि जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

    यसैगरी, नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले एक जना वरिष्ठ प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोकेर दिवंगत, सम्पर्कविहीन तथा घाइते प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई खोजतलास, उपचार तथा आवश्यक सेवा–सुविधा प्राप्तिका लागि सहजीकरण गर्ने व्यवस्था मिलाउने भएको छ ।

    बाढीमा परी नेपाल प्रहरीका तीन जना कर्मचारीको मृत्यु भएको छ भने २५ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page