logo

मंगलबार, भाद्र २३ २०८३

kantipurpationlinetv

२०८३ भाद्र २३ मंगलबार

तीजमा काठमाडौँ मल व्यवसायीको मानवीय पहल, उद्धार कोषमा राहत संकलन

तीजमा काठमाडौँ मल व्यवसायीको मानवीय पहल, उद्धार कोषमा राहत संकलन


  • सोमबार, भाद्र २२ २०८३
  • 0.8K
    SHARES

    काठमाडौं । काठमाडौँ मलका व्यवसायीहरूले यस वर्षको तीज पर्वलाई सांस्कृतिक उत्सवमा मात्र सीमित नगरी सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोडेर मनाएका छन्। तीजका अवसरमा आयोजित भेलामा रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो भने बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत रकमसमेत संकलन गरिएको थियो।

    तीज भेलामा सहभागी व्यवसायीहरूले भेटघाट, आत्मीयता, सद्भाव र सांस्कृतिक एकतासँगै विपत्तिमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाएका थिए। कार्यक्रममा बोल्दै आयोजक सुष्मा महराले भदौ १० गते रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको उल्लेख गर्दै पीडित परिवारको सहयोगका लागि सबै एकजुट हुनुपर्ने बताइन्।

    उनले तीजमा नाचगान र मनोरञ्जन मात्रै गर्नुपर्छ भन्ने नभई व्यवसायीहरू एकजुट भएर सुख–दुःख साट्दै विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न सकिने बताइन्। बाढीका कारण कतिपयले आफन्त, घरबार तथा जीवनभरको मेहनतले जोडेको सम्पत्ति गुमाएको भन्दै दुःखको समयमा पीडितसँग हातेमालो गर्नु सबैको सामाजिक दायित्व भएको उनको भनाइ थियो।

    महराका अनुसार तीज भेलालाई केवल मनोरञ्जन र उत्सवमा सीमित नराखी पीडित परिवारका लागि सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उनले सहभागी व्यवसायी तथा उपस्थित सबैलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरिन्।

    “दुःखमा साथ दिऔँ, खुसीमा एक–अर्कासँग रमाऔँ र आवश्यक परेको बेला सहयोगको हात फैलाऔँ,” महराले भनिन्।

    काठमाडौँ मल व्यवसायीहरूको तीज भेलाले सांस्कृतिक पर्वसँगै सामाजिक उत्तरदायित्व, मानवीयता र विपत्तिमा एकजुट भएर सहयोग गर्ने सकारात्मक सन्देश दिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page