logo

मंगलबार, असोज १३ २०८३

kantipurpationlinetv

२०८३ असोज १३ मंगलबार

मौसम खुलेसँगै मनास्लुमा पर्यटकको चहलपहल बढ्यो

मौसम खुलेसँगै मनास्लुमा पर्यटकको चहलपहल बढ्यो


  • मंगलबार, असोज १३ २०८३
  • 70
    SHARES

    गोरखा । लगातारको वर्षाका कारण केही दिन प्रभावित बनेको उत्तरी गोरखाको मनास्लु क्षेत्रमा मौसम खुलेसँगै पर्यटकको चहलपहल बढ्न थालेको छ। गत बिहीबारदेखि आइतबारसम्म परेको अविरल वर्षाका कारण मनास्लु क्षेत्रमा पर्यटकको आवागमन ठप्पजस्तै बनेको थियो। मौसममा सुधार आएपछि सोमबारदेखि भने पर्यटकको आवागमन बढेको स्थानीय होटल व्यवसायीहरूले बताएका छन्।

    चुमनुब्री गाउँपालिका–३ फिलिमकी होटल व्यवसायी कुमारी गुरुङका अनुसार वर्षाका कारण यस वर्ष मनास्लु क्षेत्रमा पर्यटकको संख्या केही घटेको छ। ‘गत वर्ष सेप्टेम्बरमा यहाँ पर्यटक खचाखच हुन्थे। यो वर्ष भने ठप्पजस्तै भयो। आजबाट पर्यटकको चहलपहल सुरु भएको छ,’ उनले भनिन्।

    मौसम खुलेसँगै स्थानीयवासी वर्षाका कारण क्षति पुगेका पदमार्ग तथा संरचना मर्मतमा जुटेका छन्। चुमनुब्री गाउँपालिका–२ ल्होका छिरिङ धार्के लामाका अनुसार मनास्लु सर्किटअन्तर्गत स्याला–ल्हो, लिही–भर्जमलगायतका पदमार्ग मर्मत भइरहेको छ। नाम्रुङ क्षेत्रमा रहेको काठेपुलसमेत मर्मत गरिएको उनले बताए।

    मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले मौसममा सुधार आएपछि आइतबारदेखि मनास्लु क्षेत्र प्रवेश अनुमति पत्र पुनः जारी गर्न थालेको जनाएको छ। यसअघि असोज ८, ९ र १० गते मौसम प्रतिकूल रहेकाले अनुमति पत्र जारी गरिएको थिएन।

    एमक्यापका अनुसार केही स्थानमा सुख्खा पहिरो तथा ढुंगा खस्ने जोखिम अझै रहेकाले पदमार्ग पूर्ण रूपमा सहज भइसकेको छैन। त्यसैले पर्यटक, पदयात्री, गाइड, पोर्टर तथा पर्यटन व्यवसायीलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page