गोरखा: गोरखा जिल्लाको पालुङटार नगरपालिका र काठमाडौं जिल्लाको टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध (सिस्टर सिटी रिलेसनसिप) स्थापना भएको छ। दिगो विकासका विभिन्न क्षेत्रमा अनुभव आदान–प्रदान, आपसी सहकार्य तथा दीर्घकालीन साझेदारी विस्तार गर्ने उद्देश्यले दुवै नगरपालिकाले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन्।
पालुङटार नगरपालिकाको सभाहलमा आयोजित विशेष समारोहमा पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तन र टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो। कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख, पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कलम भट्टराई, दुवै नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
समझदारीपत्रअनुसार दुवै नगरपालिकाले सुशासन, सेवा प्रवाह, भौतिक पूर्वाधार विकास, सहरी व्यवस्थापन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति तथा सांस्कृतिक सम्पदा संरक्षण, आर्थिक विकास लगायतका क्षेत्रमा आपसी सहकार्य र अनुभव आदान–प्रदान गर्नेछन्। साथै प्राविधिक सहयोगलाई संस्थागत रूपमा अघि बढाउने, सफल अभ्यासहरूको साझेदारी गर्ने तथा विकासका नवीन अवधारणालाई कार्यान्वयनमा लैजाने सहमति भएको छ।
समझदारीमा जनप्रतिनिधि तथा कर्मचारीहरूबीच नियमित अन्तरक्रिया, अध्ययन–अवलोकन भ्रमण, क्षमता विकास तथा सफल अभ्यासहरूको आदान–प्रदान गर्ने व्यवस्था गरिएको छ। दुवै नगरपालिकाले वार्षिक योजना, बजेट, नीति, निर्देशिका, कार्यविधि, प्रकाशन तथा विकाससम्बन्धी सूचनाको आदान–प्रदान गर्ने, आधिकारिक वेबसाइटहरूबीच लिंक स्थापना गर्ने तथा विकास आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने सहमति पनि गरेका छन्।
स्थानीय विकासका लागि आन्तरिक तथा बाह्य स्रोत परिचालन, लगानी प्रवर्द्धन, निजी क्षेत्रसँगको सहकार्य विस्तार, पर्यटन व्यवसायीहरूसँग समन्वय, पर्यटकीय गन्तव्यहरूको संयुक्त प्रचार–प्रसार तथा पर्यटक आकर्षित गर्ने मेला–महोत्सवमा सहभागिता जनाउने विषयलाई पनि समझदारीपत्रमा समेटिएको छ। पर्यटन तथा सांस्कृतिक क्षेत्रको विकासका लागि आवश्यक ज्ञान, सीप र अनुभव आदान–प्रदान गर्दै सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता दुवै नगरपालिकाले व्यक्त गरेका छन्।
कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनले पालुङटारमा उत्पादन हुने रैथाने कृषि उपज तथा स्थानीय उत्पादनलाई टोखा नगरपालिकामा बजारीकरण गर्ने योजना रहेको जानकारी दिनुभयो। उहाँले पालुङटारमा उत्पादन हुने सालका पातबाट बनेका टपरी टोखा नगरपालिकाले खरिद गर्ने सहमति भएको पनि बताउनुभयो। यसले स्थानीय उत्पादनको बजारीकरणसँगै उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले आफ्ना पितृपुर्खाहरू वर्षौंअघि गोरखाबाट टोखा बसाइँ सरेको उल्लेख गर्दै पालुङटारसँगको सम्बन्ध ऐतिहासिक रूपमा समेत जोडिएको बताउनुभयो। उहाँले भगिनी सम्बन्धले सांस्कृतिक आदान–प्रदान, पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
समारोहका क्रममा पालुङटार नगरपालिका–५ स्थित चारकुने बगैँचामा दुवै नगरपालिकाको सहलगानीमा ‘टोखा–पालुङटार खुला व्यायामशालासहितको मैत्रीपूर्ण पार्क’ निर्माण गर्ने सहमति पनि भएको छ। पार्क निर्माणका लागि दुवै नगरपालिकाले लागत साझेदारी गर्नेछन्।
काठमाडौँ उपत्यकाको ऐतिहासिक, सांस्कृतिक तथा सहरी विकासको अनुभव बोकेको टोखा नगरपालिका र नेपालको ऐतिहासिक उद्गमस्थल लिगलिगकोट तथा प्राकृतिक एवं पर्यटन सम्भावनाले सम्पन्न पालुङटार नगरपालिकाबीच स्थापित यो भगिनी सम्बन्धले स्थानीय शासन, सुशासन, पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान, आर्थिक विकास तथा दिगो विकासका क्षेत्रमा दीर्घकालीन सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ।
दुवै नगरपालिकाले जनहितलाई केन्द्रमा राखी साझा विकास र समृद्धिको यात्रालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै यो भगिनी सम्बन्धले दुई स्थानीय तहबीचको सम्बन्ध मात्र नभई जनस्तरको आपसी सम्बन्ध, ज्ञान र प्रविधिको आदान–प्रदान तथा विकास साझेदारीलाई समेत सुदृढ बनाउने अपेक्षा गरेका छन्।
-
मर्स्याङ्दी गाउँपालिकाको ६८ करोड ७३ लाख रुपैयाँ बजेट, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
-
१३औँ म्युजिक खबर म्युजिक अवार्डमा शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान
-
मनसुनजन्य विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौँ : गृहमन्त्री गुरुङ
-
फेसियल हाउसको १२औँ शाखा सितापाइलामा सञ्चालनमा
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा २५ खेलाडी सम्मानित, नगदसहित खेल सामग्री प्रदान