गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित श्री सिंजाली माध्यमिक विद्यालयमा आधुनिक र सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको छ । चीन सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनको अनुगमन तथा हस्तान्तरणको तयारी अघि बढाइएको छ ।
नवनिर्मित विद्यालय भवनको अनुगमन तथा हस्तान्तरणसम्बन्धी तयारी बैठक सम्पन्न भएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले जानकारी दिएका छन् । बैठकमा शिक्षा विभागका उपमहानिर्देशक वसन्त कोइराला, इन्जिनियर सुमन पोखरेल, शाखा अधिकृत विन्देश्वर थापामगर, चीन सरकारका प्रतिनिधि मिस्टर सिया, मिस्टर लु, मिस्टर गे र मिस्टर वाङ, दोभाषे राजेन्द्र केसी, विद्यालयका प्रधानाध्यापक रमेश कुँवर, वडा सदस्य, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा गाउँपालिकाका प्राविधिकहरूको उपस्थिति रहेको थियो ।
विद्यालय भवन निर्माणको प्रक्रिया २०६८ सालमा सुरु भएको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिमाली जिल्लाका १० वटा विद्यालयमा भवन निर्माण गर्ने प्रस्ताव चिनियाँ सरकारसमक्ष पेस गरेका थिए । २०६९ असार २३ गते चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक सर्वेक्षण गरेको थियो भने २०७३ सालमा भवन निर्माणका लागि नेपाल र चीनबीच सम्झौता भएको थियो ।
२०७२ सालको भूकम्पपछि गोरखाका अधिकांश विद्यालय भवन पुनर्निर्माण भए पनि सिंजाली माध्यमिक विद्यालयको भवन निर्माण प्रक्रिया भने लामो समय अन्योलमा परेको थियो । २०७८ सालमा गोरखा क्षेत्र नम्बर १ का तत्कालीन प्रतिनिधिसभा सदस्य हरि अधिकारीले शिक्षा विभाग, शिक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय तथा विकास सहायता समन्वय तथा गुणस्तर महाशाखालगायत निकायसँग समन्वय र पहल गरेपछि निर्माण प्रक्रिया अघि बढेको अध्यक्ष थापा मगरले बताएका छन् ।
उनका अनुसार २०८१ सालमा सुरु भएको भवन निर्माणको काम २०८३ मंसिरमा सम्पन्न भएको हो । लामो समयको प्रतीक्षापछि निर्माण सुरु भएको करिब दुई वर्षमै भवन निर्माण सम्पन्न भएको उनले उल्लेख गरेका छन् ।
भवन निर्माणमा सहयोग गर्ने जग्गादाता, चन्दादाता, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू हस्तबहादुर थापा, रेशम विक, कमल परियार र ध्रुव खनाल, पूर्वप्रधानाध्यापकहरू ठाकुरप्रसाद तिवारी, बलनारायण श्रेष्ठ र रमेश कुँवर, वडाध्यक्षहरू कृष्ण चेपाङ र यमबहादुर थापासहित स्थानीय समुदाय, अभिभावक, शिक्षक, गाउँपालिका, गण्डकी प्रदेश सरकार, संघीय सरकार, चिनियाँ निर्माण कम्पनी तथा सम्पूर्ण सरोकारवालाप्रति अध्यक्ष थापा मगरले आभार व्यक्त गरेका छन् ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
चौथो खेली रोईला दोहोरी प्रतियोगितामा सरोज सिम्खडा प्रथम