logo

मंगलबार, असार १६ २०८३

kantipurpationlinetv

२०८३ असार १६ मंगलबार

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० बढी सुँगुर–बंगुर मरे

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० बढी सुँगुर–बंगुर मरे


  • मंगलबार, असार १६ २०८३
  • 77
    SHARES

    गोरखा । विभिन्न जिल्लामा फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमण गोरखामा पनि देखिएको छ। पछिल्लो दुई महिनायता फैलिएको संक्रमणका कारण जिल्लामा हालसम्म २५० भन्दा बढी सुँगुर तथा बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ।

    केन्द्रका प्रमुख डा. अनन्त कोइरालाका अनुसार सबैभन्दा बढी क्षति गोरखा नगरपालिका–६ क्षेत्रमा भएको छ। मानवसेवा आश्रम आसपास रहेका किसान राजकुमार श्रेष्ठको फार्ममा ८० वटा तथा सोही क्षेत्रकी जुना रेग्मीको फार्ममा १० वटा बंगुर मरेका छन्।

    यस्तै गोरखा नगरपालिका–८ मान्द्रेढुङ्गास्थित किसान धनकुमार गुरुङको फार्ममा दुई साताको अवधिमा ६० वटा बंगुर मरेको उनले जानकारी दिए।

    हालसम्मको विवरणअनुसार गोरखा नगरपालिका–६, ७ र ८ तथा सहिद लखन गाउँपालिका–७ का केही फार्ममा अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भएको छ।

    डा. कोइरालाका अनुसार जिल्लामा करिब दुई महिनाअघि संक्रमण पहिचान भएको हो। यस रोगविरुद्ध हालसम्म प्रभावकारी उपचार वा खोप उपलब्ध नभएकाले संक्रमण भएपछि सुँगुर तथा बंगुर बचाउन कठिन हुने उनले बताए।

    ‘संक्रमित खोरमा आवतजावत गर्ने व्यक्ति, दाना, उपकरण तथा अन्य सामग्रीको माध्यमबाट पनि संक्रमण फैलिन सक्छ,’ उनले भने, ‘यसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय जैविक सुरक्षा (बायोसेक्युरिटी) अपनाउनु र संक्रमित खोरसँगको सम्पर्क रोक्नु हो।’

    उनका अनुसार जिल्लामा दर्ता भएका र नभएका दुवै प्रकारका फार्ममा संक्रमण देखिएकाले वास्तविक क्षति सार्वजनिक तथ्यांकभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।

    संक्रमित फार्मका किसान धनकुमार गुरुङका अनुसार रोग लागेका सुँगुर तथा बंगुरमा सुरुमा उच्च ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा रातो धब्बा देखिने र करिब एक साताभित्र मर्ने लक्षण देखिएको छ।

    पशु सेवा विज्ञ केन्द्रले किसानलाई खोरमा बाहिरी व्यक्तिको आवतजावत नियन्त्रण गर्न, सरसफाइमा विशेष ध्यान दिन, संक्रमित पशु छुट्टै राख्न तथा शंकास्पद लक्षण देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page