logo

शनिबार, असार २० २०८३

kantipurpationlinetv

२०८३ असार २० शनिबार

गोरखामा जनस्वास्थ्यका कार्यक्रम प्रभावकारी बन्दै, आठ स्थानीय तह पूर्ण खोप सुनिश्चित

गोरखामा जनस्वास्थ्यका कार्यक्रम प्रभावकारी बन्दै, आठ स्थानीय तह पूर्ण खोप सुनिश्चित


  • मंगलबार, असार २ २०८३
  • 1K
    SHARES

    गोरखा । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जेठ महिनामा जिल्लाभर सञ्चालन भएका जनस्वास्थ्य कार्यक्रम, उपलब्धि तथा आगामी कार्ययोजनासहितको मासिक जनस्वास्थ्य बुलेटिन सार्वजनिक गरेको छ।

    कार्यालयले सार्वजनिक गरेको बुलेटिनअनुसार जेठ महिनामा स्वास्थ्य प्रवर्द्धन, रोग रोकथाम, सेवा प्रवाह सुदृढीकरण तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखेर विभिन्न गतिविधि सञ्चालन गरिएको छ। बुलेटिनले स्थानीय तह, सरोकारवाला निकाय तथा समुदायबीच स्वास्थ्यसम्बन्धी सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने र तथ्यमा आधारित निर्णय प्रक्रियालाई सहयोग पुर्‍याउने उद्देश्य राखेको कार्यालयले जनाएको छ।

    बुलेटिनअनुसार स्थानीय तहका स्वास्थ्य समस्या पहिचान तथा सम्बोधन गर्ने विशेष कार्यक्रमअन्तर्गत प्रमुख प्रशासकीय अधिकृत, शिक्षा समन्वय इकाई, शिक्षा शाखा प्रमुख तथा जिल्लाका ११४ सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय अभियानसम्बन्धी अभिमुखीकरण गरिएको छ।

    यस्तै, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पुनर्ताजगी तालिम, मानसिक स्वास्थ्य शिक्षा प्रवर्द्धन कार्यक्रम, र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) अभिमुखीकरण, मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रमअन्तर्गत क्लिनिकल मेन्टरिङ तथा गुणस्तर सुधार, निजी स्वास्थ्य संस्था समन्वय बैठक, क्षयरोगसम्बन्धी आधारभूत तालिम, पोषणमैत्री स्वास्थ्य संस्था अभिमुखीकरण, सुर्तीजन्य पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी समन्वय, डेङ्गी तथा जापानिज इन्सेफ्लाइटिस रोकथाम, एचआईभीसम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरण कार्यक्रमलगायतका गतिविधि सञ्चालन गरिएको उल्लेख छ।

    बुलेटिनका अनुसार जेठ महिनासम्म गोरखा जिल्लाका ११ स्थानीय तहमध्ये आठ स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका छन्। यो जिल्लाका कुल स्थानीय तहमध्ये ७२.७ प्रतिशत हो।

    यस अवधिमा दुई हजार २२१ जनामा नसर्ने रोग (एनसीडी) को स्क्रिनिङ गरिएको छ। त्यसमध्ये एक हजार ७३६ महिला र ४८५ पुरुष रहेका छन्। त्यस्तै १४५ जनामा बाथ मुटुरोग (आरएचडी) स्क्रिनिङ, एक हजार ५७१ महिलामा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि भिआइए (VIA) परीक्षण तथा १०० जनामा एआई एक्स–रेमार्फत क्षयरोग परीक्षण गरिएको छ। भिआइए परीक्षणपछि ४४ जनालाई थप उपचारका लागि रिफर गरिएको भने एआई एक्स–रेमार्फत दुई जनामा क्षयरोग पुष्टि भएको कार्यालयले जनाएको छ।

    बुलेटिनमा समेटिएको तथ्याङ्कअनुसार गोरखा जिल्लामा उच्च रक्तचापका बिरामीको संख्या १८ हजार ४५१ पुगेको छ। पछिल्ला तीन वर्षको तथ्याङ्क तुलना गर्दा उच्च रक्तचापका बिरामीको संख्या बढ्दो क्रममा रहेको देखिएको छ। कार्यालयले सेवा पहुँच विस्तार, नियमित परीक्षण, रिपोर्टिङ प्रणालीमा सुधार तथा जनचेतना वृद्धिसँगै बिरामी पहिचान पनि बढेको जनाएको छ।

    प्रदेश जनस्वास्थ्य कार्यालयले आगामी महिनामा आँपपिपल अस्पतालमा एमएनडीपी सुपरभिजन, गण्डकी गाउँपालिकामा प्रजनन स्वास्थ्य रुग्णता शिविर, स्वास्थ्यकर्मीका लागि आधारभूत स्वास्थ्य सेवा अभिमुखीकरण, कारागारमा मानसिक स्वास्थ्य शिक्षा कार्यक्रम, विद्यालयमा स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय अभियानको अनुगमन तथा प्रमाणीकरण, निजी स्वास्थ्य संस्था अनुगमन, खानेपानी परीक्षण, सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी अनुगमन तथा नियमित खोप कार्यक्रमलाई निरन्तरता दिने योजना सार्वजनिक गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech