logo

सोमबार, असार २२ २०८३

kantipurpationlinetv

२०८३ असार २२ सोमबार

गोरखा पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा

गोरखा पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा


  • सोमबार, असार २२ २०८३
  • 91
    SHARES

    गोरखा, असार २२ – गोरखालाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि सोमबार जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको हो।

    प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार जिल्लाका सबै वडा र स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिसकेपछि जिल्लास्तरमा घोषणा गरिएको हो। यसअघि फागुन, चैत र वैशाख महिनामा सञ्चालन गरिएको घरदैलो सर्वेक्षणमार्फत १६ देखि २३ महिनासम्मका बालबालिकाले पूर्ण खोप पाए–नपाएको तथा १५ महिनामुनिका बालबालिकाले नियमित खोप सेवा लिए–नलिएको अवस्था परीक्षण गरिएको थियो।

    सर्वेक्षणका क्रममा जिल्लामा १६ देखि २३ महिनासम्मका एक हजार ७७५ र १५ महिनामुनिका दुई हजार ७६४ बालबालिका रहेको तथा उनीहरूमध्ये सबैले पूर्ण तथा नियमित खोप प्राप्त गरेको पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालयकी प्रमुख सिमृन काफ्लेले जानकारी दिइन्।

    सर्वेक्षणमा पूर्ण रूपमा खोपबाट वञ्चित कुनै पनि बालबालिका नभेटिएको र आंशिक खोप लगाएका ६ जना बालबालिकाको पहिचान गरी उनीहरूलाई आवश्यक सबै खोप लगाइसकिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ।

    जिल्ला खोप समन्वय समितिका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाकी उपप्रमुख लिला परियार, प्रदेश जनस्वास्थ्य कार्यालयका अधिकारी, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    सरकारले प्रत्येक वर्ष घरधुरी सर्वेक्षण, खोप महिना तथा पूर्णखोप सुनिश्चितता र दीगोपना कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयनले बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगबाट सुरक्षित राख्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech