logo

बिहिबार, साउन १४ २०८३

kantipurpationlinetv

२०८३ साउन १४ बिहिबार

बेसीशहर नगरपालिकाले पाँच श्रमिकलाई नगदसहित सम्मान, स्थानीय रोजगारी प्रवर्द्धनमा जोड

बेसीशहर नगरपालिकाले पाँच श्रमिकलाई नगदसहित सम्मान, स्थानीय रोजगारी प्रवर्द्धनमा जोड


  • बुधबार, असार २४ २०८३
  • 1.4K
    SHARES

    लमजुङ । बेसीशहर नगरपालिकाले विभिन्न श्रम क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका पाँच जना श्रमिकलाई नगदसहित सम्मान गरेको छ। नगरपालिकाको रोजगार, सीप तथा उद्यमशीलता केन्द्रको समन्वयमा आयोजित कार्यक्रममा सम्मानित श्रमिकलाई जनही चार हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्रदान गरिएको हो।

    आर्थिक वर्ष २०८२/०८३ को वार्षिक विकास कार्यक्रमअन्तर्गत श्रमप्रतिको सम्मानजनक अभ्यास प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न क्षेत्रमा सक्रिय श्रमिकलाई छनोट गरी सम्मान गरिएको रोजगार, सीप तथा उद्यमशीलता केन्द्रका संयोजक ईश्वरबहादुर लोहनीले जानकारी दिए।

    सम्मानित हुनेमा सूचीकृत बेरोजगार तथा अपांगता भएका व्यक्ति हरिचन्द्र सिलवाल, सडक लघु कृषि (डोके) व्यवसायी वीरबहादुर कामी, फोहरमैला संकलनकर्ता सुरज तामाङ, होटल क्षेत्रमा सरसफाइ कर्मचारी मिना मजाकोटी तथा निर्माण क्षेत्रमा कार्यरत मजदुर बुद्धिबहादुर राना मगर रहेका छन्।

    नगर प्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख अर्याल, उपप्रमुख पदमा गुरुङ तथा प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले सम्मान प्रदान गरेका थिए।

    कार्यक्रमकै अवसरमा ‘रोजगार संवाद मञ्च’ सञ्चालन गरी स्थानीय रोजगारदाता, उद्योगी, व्यवसायी, वित्तीय संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाबीच स्थानीय रोजगारीका अवसर, श्रम बजारका चुनौती र समाधानका उपायबारे छलफल गरिएको थियो।

    छलफलका क्रममा रोजगारदाताले बजारको मागअनुसार दक्ष तथा सीपयुक्त जनशक्तिको अभाव रहेको उल्लेख गर्दै स्थानीय तहले निजी क्षेत्रसँग सहकार्य गरी मागमा आधारित सीपमूलक तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिबीच प्रभावकारी समन्वय हुन सके स्थानीयस्तरमै रोजगारी सिर्जना र श्रम बजारको सुदृढीकरणमा टेवा पुग्ने सहभागीहरूको धारणा थियो।

    कार्यक्रमबारे प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले जानकारी गराएका थिए भने सञ्चालन तथा समन्वय रोजगार, सीप तथा उद्यमशीलता केन्द्रका संयोजक ईश्वरबहादुर लोहनीले गरेका थिए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page