logo

मंगलबार, मंसिर ९ २०८३

kantipurpationlinetv

२०८३ मंसिर ९ मंगलबार

मनकामना केबलकार सञ्चालनको २८ वर्ष पूरा, २ करोड १२ लाखभन्दा बढीले गरे यात्रा

मनकामना केबलकार सञ्चालनको २८ वर्ष पूरा, २ करोड १२ लाखभन्दा बढीले गरे यात्रा


  • मंगलबार, मंसिर ९ २०८३
  • 0.8K
    SHARES

    गोरखा: नेपालको पहिलो केबलकारका रूपमा परिचित मनकामना केबलकारले सञ्चालनको २८ वर्ष पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । चितवनको–इ समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबलकारले २०५५ सालदेखि सुरु गरेको सेवा यात्रा पूरा गर्दै मंसिर ८ गतेदेखि २९औँ वर्षमा प्रवेश गरेको हो । कम्पनीका अनुसार सञ्चालनमा आएदेखि हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुले केबलकारमार्फत यात्रा गरिसकेका छन् ।

    समूहका स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना र नेतृत्वमा स्थापना भएको मनकामना केबलकारले नेपालको धार्मिक पर्यटन तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । विशेषगरी मनकामना मन्दिर दर्शनका लागि पुग्ने भक्तजन तथा पर्यटकलाई सहज र छरितो यातायात सेवा उपलब्ध गराउँदै आएको केबलकारले मनकामना क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत भूमिका खेलेको छ ।

    सञ्चालनको २८ वर्ष पूरा भएको अवसरमा मनकामना दर्शन प्रालिले संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले देखाएको दूरदृष्टि, परिकल्पना र मार्गनिर्देशनलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । कम्पनीले यो उपलब्धिको श्रेय मनकामना माताको आशीर्वाद, संस्थापकको योगदान तथा यात्रु र शुभेच्छुकको माया र विश्वासलाई दिएको छ ।

    कम्पनीले केबलकारमार्फत यात्रा गर्ने यात्रु तथा ग्राहक, सेवा सञ्चालनमा अहोरात्र खटिने कर्मचारी र पर्यटन तथा आतिथ्य सत्कार क्षेत्रका साझेदारप्रति आभार व्यक्त गरेको छ । त्यस्तै, केबलकारको सञ्चालन तथा विकासमा सहयोग पुर्‍याउने शहीद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, गोरखा र चितवन जिल्ला प्रशासन कार्यालय तथा सम्पूर्ण शुभेच्छुकप्रति धन्यवाद ज्ञापन गरेको छ ।

    २८ वर्षको यात्रामा साथ र सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीले आगामी दिनमा पनि यात्रुलाई सुरक्षित, सहज र स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने कम्पनीको भनाइ छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page