लमजुङ । लमजुङका सुरक्षा निकायका प्रमुखहरूले जिल्लाका प्रमुख सीमा क्षेत्रमा पुगेर लागुऔषध ओसारपसारको अवस्था तथा सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन गरेका छन्। बढ्दो लागुऔषध प्रयोग न्यूनीकरण तथा बाहिरी जिल्लाबाट सीमाक्षेत्र हुँदै हुन सक्ने ओसारपसार रोक्ने उद्देश्यले मंगलबार संयुक्त अनुगमन गरिएको हो।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालको नेतृत्वमा भएको अनुगमन टोलीले तनहुँसँग सीमा जोडिएको सुन्दरबजार नगरपालिका–१, पाउँदी बजार तथा गोरखासँग जोडिएको राइनास नगरपालिका–७, गरमबेँसी क्षेत्रको निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत, सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी, इलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराईलगायत सहभागी थिए।
प्रमुख जिल्ला अधिकारीको सचिवालयमा कार्यरत दिननाथ अधिकारीका अनुसार अनुगमनका क्रममा जिल्लामा बढ्दो लागुऔषध प्रयोग न्यूनीकरण, सीमाक्षेत्र हुँदै हुन सक्ने सम्भावित ओसारपसार तथा सुरक्षा व्यवस्थाको प्रभावकारिताबारे जानकारी लिइएको थियो।
प्रहरी निरीक्षक चन्द्रकला भट्टराईले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने पाउँदी तथा चेपे–गोरखा सीमाक्षेत्रमा लागुऔषध ओसारपसार हुन नदिन विशेष निगरानी बढाइएको बताइन्। उनले अस्थायी प्रहरी पोस्ट पाउँदी र धमिलीकुवामा कार्यरत प्रहरी कर्मचारीलाई उच्च सतर्कतासाथ सुरक्षा निगरानी गर्न निर्देशन दिइएको जानकारी दिइन्।
त्यसैगरी, प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले तनहुँसँग जोडिएको पाउँदी क्षेत्रमा विगतका केही महिनामा लागुऔषधसहित पक्राउ पर्ने घटना भए पनि पछिल्ला तीन महिनायता त्यस्तो घटना नदेखिएको बताए। उनले जिल्लाका सबै सीमावर्ती प्रहरी इकाइलाई सुरक्षा निगरानी थप प्रभावकारी बनाउन निर्देशन दिइएको जानकारी दिए।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले सीमाक्षेत्रबाट कुनै पनि प्रकारको लागुऔषध ओसारपसार हुन नदिन सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्। उनले इलाका प्रहरी कार्यालय भोटेओडार तथा अस्थायी प्रहरी पोस्ट पाउँदी र धमिलीकुवाका इन्चार्जलाई नियमित चेकजाँच, निगरानी र अन्तरनिकाय समन्वयलाई थप सुदृढ बनाउन आग्रह गरेका छन्।
-
सार्वजनिक बिदाका दिनसमेत खुला रहने बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय
-
१३औँ म्युजिक खबर म्युजिक अवार्डमा शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान
-
मर्स्याङ्दी गाउँपालिकाको ६८ करोड ७३ लाख रुपैयाँ बजेट, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता
-
ऐतिहासिक लिगलिगे दौडको प्रारम्भिक स्थलमा सरसफाई तथा वृक्षारोपण सम्पन्न
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा कक्षा १–८ का लागि ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक