काठमाडौं — काठमाडौं जिल्ला सुरक्षा समितिले सुन्धारा क्षेत्रमा रहेका क्लब, डिस्को, डान्सबार, दोहोरी रेष्टुरेन्ट, लाउञ्ज एण्ड वारलगायत रात्रिकालीन व्यवसाय राति ११ बजेपछि अनिवार्य रूपमा बन्द गर्ने निर्णय गरेपछि त्यसको विरोध सुरु भएको छ।
निर्णयविरुद्ध रात्रिकालीन व्यवसायीहरूले बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलसमक्ष ज्ञापनपत्र बुझाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। काठमाडौं उपत्यकाका रात्रिकालीन व्यवसायीहरू संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय पुगेका थिए।
राष्ट्रिय लोक दोहोरी व्यवसायी सङ्घका अध्यक्ष दिपसागर थापा मगरका अनुसार व्यवसायीहरूले निर्णयले हजारौं व्यवसायी, कलाकार तथा श्रमिकको रोजगारीमा प्रत्यक्ष असर पर्ने भन्दै पुनर्विचार गर्न आग्रह गरेका छन्।
उनले प्रमुख जिल्ला अधिकारीसँग भएको छलफल सकारात्मक रहेको बताउँदै व्यवसायीहरूको हितलाई ध्यानमा राखेर उपयुक्त निर्णय आउने विश्वास व्यक्त गरे।
व्यवसायीहरूले देशभर रात्रिकालीन व्यवसाय पहिले नै आर्थिक मन्दी, घट्दो व्यापार र विभिन्न चुनौतीका कारण संकटमा रहेको अवस्थामा सुन्धारा क्षेत्रमा राति ११ बजेपछि व्यवसाय बन्द गर्ने निर्णयले थप आर्थिक भार सिर्जना गर्ने बताएका छन्। उनीहरूले उक्त निर्णयले होटल, दोहोरी, डान्सबार, लाउञ्ज तथा अन्य रात्रिकालीन व्यवसाय सञ्चालन गर्न कठिन हुने र ठूलो संख्यामा श्रमिक तथा कलाकार प्रभावित हुने दाबी गरेका छन्।
यसैबीच, जिल्ला सुरक्षा समितिले स्थानीय बासिन्दाबाट रातिको होहल्लाले दैनिक जीवनमा असर परेको गुनासो आएपछि सुन्धारा क्षेत्रमा रहेका क्लब, डिस्को, डान्स, दोहोरी रेष्टुरेन्ट, लाउञ्ज एण्ड वार तथा अन्य होटलहरू राति ११ बजेपछि अनिवार्य रूपमा बन्द गर्ने निर्णय गरेको थियो।
उक्त निर्णय सार्वजनिक भएसँगै व्यवसायी, कलाकार तथा सरोकारवालाहरूबाट यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ।
-
सार्वजनिक बिदाका दिनसमेत खुला रहने बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय
-
ऐतिहासिक लिगलिगे दौडको प्रारम्भिक स्थलमा सरसफाई तथा वृक्षारोपण सम्पन्न
-
मनसुनजन्य विपद्को जोखिम बढेपछि मर्स्याङ्दी गाउँपालिकाद्वारा उच्च सतर्कता अपनाउन अपिल
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा कक्षा १–८ का लागि ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक
-
गोरखामा भ्याट र परिवर्तित करबारे अभिमुखीकरण, ९० व्यवसायी सहभागी