काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सबै प्रदेशमा जलन (बर्न) उपचार तथा मानसिक स्वास्थ्य सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउन आवश्यक समन्वय र कार्यान्वयनलाई तीव्रता दिन निर्देशन दिएकी छन्।
नवनियुक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग मंगलबार भर्चुअल बैठक गर्दै मन्त्री मेहताले जलन उपचार र मानसिक स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई सरकारको प्राथमिकतामा राखिएको बताइन्।
बैठकमा देशभर सञ्चालनमा रहेका जलन उपचार सेवाको वर्तमान अवस्था, उपलब्ध स्रोत–साधन, चुनौती र आगामी कार्ययोजनाबारे समीक्षा गरिएको थियो। प्रत्येक स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो संस्थामा सञ्चालित जलन उपचार सेवाको अवस्था, उपलब्ध जनशक्ति, पूर्वाधार तथा भावी योजना प्रस्तुत गरेका थिए।
छलफलपछि जलन उपचार सेवालाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति, तालिम, पूर्वाधार, उपकरण, औषधिलगायत स्रोत–साधनको प्रदेशगत विस्तृत नक्साङ्कन (म्यापिङ) गरी सोही आधारमा कार्ययोजना कार्यान्वयन गर्ने सहमति भएको छ।
बैठकले स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित मनोसामाजिक परामर्श केन्द्रलाई थप व्यवस्थित, प्रभावकारी र सेवामुखी बनाउने निर्णय पनि गरेको छ। अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीलाई मनोसामाजिक परामर्श सेवाबारे प्रभावकारी जानकारी उपलब्ध गराउने तथा आवश्यक परामर्श सहज रूपमा प्राप्त हुने व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको थियो।
मन्त्री मेहताले जलन उपचार र मानसिक स्वास्थ्य सेवाको पहुँच तथा गुणस्तर सुधारका लागि सबै प्रदेशमा सेवा विस्तार र सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाइने बताइन्। उनले संघ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वयमार्फत नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गरिने उल्लेख गरिन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
मनसुनजन्य विपद्को जोखिम बढेपछि मर्स्याङ्दी गाउँपालिकाद्वारा उच्च सतर्कता अपनाउन अपिल
-
गोरखामा भ्याट र परिवर्तित करबारे अभिमुखीकरण, ९० व्यवसायी सहभागी
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखा पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा