गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिका–७, बोर्लाङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। गाउँपालिकाको समन्वय तथा प्रादेशिक रोग नियन्त्रण केन्द्र, गण्डकी प्रदेश पोखरा र प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको आयोजनामा प्रदेश अस्पताल गोरखाको प्राविधिक सहयोगमा मंसिर ५ गते शनिबार बोर्लाङ स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुन लागेको हो।
बिहान ८ बजेदेखि सुरु हुने शिविरमा मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मिर्गौलासम्बन्धी समस्या, रक्तअल्पता लगायतका नसर्ने रोगको परीक्षण गरिनेछ। त्यस्तै, रक्त तथा पिसाब परीक्षण, बीएमआई मापन, कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट छातीको एक्सरे, क्षयरोगको खकार परीक्षण, प्रजनन स्वास्थ्य सेवा, पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको परीक्षण र आँखा जाँच सेवा पनि उपलब्ध हुनेछ।
शिविरमा मानसिक स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श सेवा समेत प्रदान गरिने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले सबै सेवाग्राहीलाई रगत परीक्षणका लागि बिहान खाली पेटमा आउन र बिहान ११ बजेभित्र शिविरस्थलमा उपस्थित हुन अनुरोध गरेको छ। साथै, क्षयरोग भएका, दम, क्यान्सर तथा एचआईभी संक्रमित व्यक्ति र विगतमा क्षयरोगको उपचार गराएका व्यक्तिका परिवारका सदस्यलाई अनिवार्य रूपमा छातीको एक्सरे गराउन गाउँपालिकाले आग्रह गरेको छ।
गाउँपालिकाले स्थानीय नागरिकलाई घरआँगनमै विभिन्न स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गर्न लागेको जनाएको छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
ताकुकोट न्वागी मेला मंसिर ५ र ६ गते, बल्छी ध्रुवेसहित चर्चित कलाकारहरुको भव्य प्रस्तुति रहने