राजविराज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीमा प्रस्तावित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन गर्नुका साथै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गरेकी छन्।
मन्त्री मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत अवलोकन गर्दै त्यहाँको पूर्वाधार, जग्गाको अवस्था तथा प्रतिष्ठान निर्माणका लागि आवश्यक आगामी प्रक्रियाबारे जानकारी लिएकी हुन्।
अवलोकनका क्रममा मन्त्री मेहताले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ऐन अघि बढिसकेको जानकारी दिँदै प्रतिष्ठानलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताइन्।
त्यसैगरी, मन्त्री मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गरी अस्पतालको सेवा प्रवाह, भौतिक पूर्वाधार तथा जनशक्तिको अवस्थाबारे जानकारी लिइन्।
अस्पतालको सेवा विस्तार तथा सुदृढीकरणका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य सेवा उपलब्ध गराउन मन्त्रालयले सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने मन्त्री मेहताले बताइन्।
उनले अस्पतालको हस्तान्तरण प्रक्रिया भदौ महिनाको अन्त्यसम्म सम्पन्न गर्न सम्बन्धित पक्षलाई अनुरोधसमेत गरेकी छन्। अस्पताल हस्तान्तरणपछि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरी सेवा विस्तारमा मन्त्रालयले सहजीकरण गर्ने उनको भनाइ छ।
सप्तरीका स्थानीय नागरिकलाई गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले संघ, प्रदेश र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको मन्त्री मेहताले बताइन्।
उनका अनुसार स्वास्थ्य संस्थाको भौतिक तथा जनशक्ति क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेतर्फ मन्त्रालयले प्राथमिकताका साथ काम गर्नेछ।
-
कलाकारितापछि राजनीतिमा प्रकाश कटुवाल, कांग्रेस महाधिवेशन प्रतिनिधिमा भिड्दै
-
९औँ राष्ट्रिय लोकदोहोरी अवार्डलाई सहयोग गर्नेलाई सम्मान, संगीत र प्रविधिबारे अन्तरक्रिया
-
मुग्लिङ बजारमा गीत विमोचनसँगै कलाकार तथा सञ्चारकर्मीहरु सम्मानित
-
भदौ महिनाको उत्कृष्ट प्रहरी बने प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी
-
मौसम सुधार नभएसम्म यात्रा नगर्न प्रधानमन्त्रीको आग्रह