गोरखा । पाकिस्तानस्थित ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका गोरखाको धार्चे गाउँपालिका–४, लाप्राकका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को परिवारलाई गाउँपालिकाले ५० हजार रुपैयाँ राहत प्रदान गरेको छ।
धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले मृतकको परिवारलाई किरिया खर्चबापत उक्त रकम हस्तान्तरण गरेका हुन्। राहत हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले युक्तले राष्ट्र र जिल्लाको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्याउन पुर्याएको योगदानको स्मरण गरेका थिए।
२०४५ साल पुस ९ गते लाप्राकमा जन्मिएका युक्तले १० पटक सगरमाथाको सफल आरोहण गरेका थिए। उनले पछिल्लो पटक गत मे २० मा सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए। यसै वर्ष एकै सिजनमा अन्नपूर्ण प्रथम, सगरमाथा र ल्होत्से हिमालको सफल आरोहण गरेका उनी गण्डकी अल्पाइन क्लबका कोषाध्यक्षसमेत थिए। ३७ वर्षीय गुरुङको हिमपहिरोमा परी निधन भएको हो।
यसअघि पनि गाउँपालिकाले विभिन्न बाढीपहिरो तथा हिमपहिरोमा परी ज्यान गुमाएका र बेपत्ता भएका स्थानीयका परिवारलाई विपद् कोषबाट राहत उपलब्ध गराएको थियो। भोटेकोशी–त्रिशूली बाढीपहिरोमा परी मृत्यु भएका लाप्राकका चार जना, हिमलुङ हिमालको आधार शिविरमा आएको हिमपहिरोमा परी मृत्यु भएका धार्चे–२ केरौँजाका दुई जना तथा बूढीगण्डकी बाढीमा परी बेपत्ता भएका लाप्राकका एक जनाको परिवारलाई राहत प्रदान गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए।
उनका अनुसार शव फेला नपरेकाका परिवारलाई खोजी खर्च र शव फेला परेकाका परिवारलाई किरिया खर्चबापत जनही ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
काग तिहारको एकाबिहानै कलाकार रमेश दुलालले दरबारमार्गमा यसरी बोलाए सयौँ काग