काठमाडौं — नेपालको दोस्रो पुरानो सिनेमा हलका रूपमा परिचित जय नेपाल सिनेमा हल पुनर्निर्माणपछि आधुनिक प्रविधिसहित पुनः सञ्चालनमा आएको छ। तत्कालीन राजा महेन्द्रबाट स्विकृती तथा सिफारिस दिएपछी वि.सं. २००७ सालमा स्थापना प्रक्रिया सुरु भएको जय नेपाल सिनेमा हलले २००९ सालदेखि औपचारिक रूपमा चलचित्र प्रदर्शन थालेको थियो।
कोभिड महामारीपछि बन्द भएको जय नेपाल सिनेमा हल पुनर्निर्माण गरेर सञ्चालनमा ल्याइएसँगै अहिले चलचित्र हेर्न आउने दर्शकको चहलपहल बढेको छ। नेपाली चलचित्र इतिहाससँग जोडिएको यस ऐतिहासिक हलमा चलचित्र हेर्न दर्शकहरूको लर्को लाग्न थालेको छ।
जय नेपाल हलमा चलचित्र हेर्न सर्वसाधारणसँगै नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, राजनीतिक व्यक्तित्व तथा सामाजिक क्षेत्रमा परिचित व्यक्तिहरू पनि पुग्ने गरेका छन्। पुरानो इतिहास र आधुनिक प्रविधिको संयोजनले हलप्रति दर्शकको आकर्षण थप बढाएको छ।
करिब ३०६ जना दर्शक क्षमता रहेको हलमा चलचित्र हेर्न आउने दर्शकका लागि आरामदायी सिटको व्यवस्था गरिएको छ। सामान्य सिटसँगै सोफा र रिक्लाइनर सिटसमेत उपलब्ध छन्। दर्शकलाई सहज र फरक अनुभव दिलाउने उद्देश्यले हलको भौतिक संरचना तथा आन्तरिक व्यवस्थापनलाई आधुनिक बनाइएको छ।
प्रविधिका हिसाबले पनि जय नेपाल हललाई विशेष बनाउने प्रयास गरिएको छ। चलचित्रको दृश्यसँगै ध्वनिको गुणस्तरलाई प्राथमिकता दिँदै युक्रेनको म्याग कम्पनीको साउन्ड सिस्टम प्रयोग गरिएको छ। यसले दर्शकलाई चलचित्र हेर्दा उच्चस्तरीय ध्वनि अनुभव दिलाउने अपेक्षा गरिएको छ।
पछिल्लो समय युवा पुस्तामाझ थ्रीडी चलचित्रप्रतिको आकर्षण बढ्दै गएको अवस्थामा जय नेपाल हलमा थ्रीडी चलचित्र हेर्न सकिने सुविधासमेत उपलब्ध गराइएको छ।
जय नेपाल सिनेमा हलको अर्को विशेषता यसको सहज पहुँच पनि हो। काठमाडौंका कतिपय मल्टिप्लेक्समा चलचित्र हेर्न सात–आठ तलासम्म लिफ्ट चढेर वा सिँढी प्रयोग गरेर पुग्नुपर्ने अवस्था छ। तर जय नेपाल हल भने भुइँतलामै रहेकाले दर्शकले त्यस्तो झन्झट बेहोर्नुपर्दैन। ज्येष्ठ नागरिक, बालबालिका तथा शारीरिक रूपमा हिँडडुल गर्न असहज हुने दर्शकका लागि पनि हलसम्म पुग्न सहज छ।
त्यस्तै, आफ्नै सवारीसाधन लिएर चलचित्र हेर्न आउने दर्शकका लागि पार्किङको उपयुक्त व्यवस्था गरिएको छ। सहज पहुँच, आरामदायी सिट, आधुनिक ध्वनि प्रविधि र पार्किङ सुविधाले जय नेपाल हललाई दर्शकका लागि थप सहज गन्तव्य बनाएको छ।
जय नेपाल सिनेमा हल चलचित्र प्रदर्शनमा मात्र सीमित छैन। गीत विमोचन, चलचित्रका ट्रेलर सार्वजनिक, चलचित्रको विशेष प्रदर्शन तथा अन्य सांस्कृतिक र मनोरञ्जनसम्बन्धी कार्यक्रम आयोजना गर्नका लागि पनि यो उपयुक्त गन्तव्यका रूपमा रहेको छ। चलचित्रकर्मी, कलाकार तथा आयोजकहरूले विभिन्न कार्यक्रमका लागि हललाई प्रयोग गर्न सक्ने भएकाले यसले चलचित्र प्रदर्शनसँगै नेपाली कला, संस्कृति र मनोरञ्जन क्षेत्रका गतिविधि सञ्चालन गर्ने साझा मञ्चका रूपमा समेत भूमिका खेल्न सक्ने देखिन्छ।
लामो समय बन्द रहँदा ओझेलमा परेको जय नेपाल सिनेमा हल पुनः सञ्चालनमा आएसँगै नेपाली चलचित्र क्षेत्रको ऐतिहासिक सम्पदाले नयाँ जीवन पाएको छ। पुरानो पुस्ताका चलचित्रप्रेमीका लागि सम्झनाको केन्द्र र नयाँ पुस्ताका लागि आधुनिक प्रविधिमा चलचित्र हेर्ने गन्तव्यका रूपमा जय नेपाल हल फेरि दर्शकमाझ फर्किएको छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
काग तिहारको एकाबिहानै कलाकार रमेश दुलालले दरबारमार्गमा यसरी बोलाए सयौँ काग