logo

आइतबार, साउन ३ २०८३

kantipurpationlinetv

२०८३ साउन ३ आइतबार

९० दिनमै २ हजार २ सयभन्दा बढीले लिए निःशुल्क उपचार, सरकारको स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै

९० दिनमै २ हजार २ सयभन्दा बढीले लिए निःशुल्क उपचार, सरकारको स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै


  • बिहिबार, असार ३२ २०८३
  • 70
    SHARES

    काठमाडौं । सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको निःशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै गएको छ। पोर्टल सञ्चालनमा आएको ९० दिनको अवधिमा २ हजार २ सयभन्दा बढी नागरिकले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन्।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार पोर्टलमार्फत अस्पतालमा उपलब्ध निःशुल्क शय्या र विभिन्न रक्तसञ्चार केन्द्रमा रहेको रगतको मौज्दातबारे वास्तविक समय (रियल–टाइम) मा जानकारी लिन सकिने व्यवस्था गरिएको छ।

    मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पछिल्लो एक सातामै १३ अस्पताल थपिएसँगै पोर्टलमा आबद्ध अस्पतालको संख्या २३८ पुगेको छ। पोर्टलमा आबद्ध प्रत्येक अस्पतालले आफ्नो कुल शय्या संख्याको कम्तीमा १० प्रतिशत निःशुल्क उपचारका लागि छुट्याएर त्यसको विवरण नियमित रूपमा अद्यावधिक गरिरहेका छन्। कुन शय्या खाली छ र कुन प्रयोगमा छ भन्ने विवरण पनि प्रणालीमा उपलब्ध हुन्छ।

    यस प्रणालीमार्फत विपन्न बिरामी वा उनका आफन्तले घरमै बसेर मोबाइल वा कम्प्युटरबाट देशभरका अस्पतालमा उपलब्ध निःशुल्क शय्याको अवस्था हेर्न सक्नेछन्। साथै, आवश्यक रक्त समूह कुन रक्तसञ्चार केन्द्रमा उपलब्ध छ भन्ने जानकारी पनि सहज रूपमा प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ।

    सरकारले संविधानले प्रत्याभूत गरेको निःशुल्क स्वास्थ्य उपचारको हक कार्यान्वयन गर्न तथा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ प्रभावकारी रूपमा लागू गर्न सूचना प्रविधिमा आधारित यो प्रणाली विकास गरेको हो। मापदण्डअनुसार अस्पतालहरूले कुल शय्याको कम्तीमा १० प्रतिशत विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि निःशुल्क उपचारका निम्ति छुट्याउनुपर्ने व्यवस्था छ।

    प्रवक्ता डा. अधिकारीका अनुसार प्रणाली सञ्चालनमा आएयता १ हजार ७६० भन्दा बढी बिरामीले निःशुल्क शय्या सुविधा उपयोग गरिसकेका छन्। उनका अनुसार संविधानले सुनिश्चित गरेको निःशुल्क स्वास्थ्य उपचारको अधिकार उपयोग गर्ने नागरिकको संख्या क्रमशः बढ्दै गएको छ।

    मन्त्रालयका अनुसार देशका प्रमुख अस्पतालमध्ये बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सबैभन्दा धेरै २५१ निःशुल्क शय्या उपलब्ध छन्। सोमबार अपराह्नसम्म ती सबै शय्या खाली रहेका थिए। यस्तै, वीर अस्पतालमा निःशुल्क शय्याको उपयोग सबैभन्दा बढी भएको छ, जहाँ उपलब्ध ९६ शय्यामध्ये १९ वटामा बिरामी उपचाररत रहेका छन्।

    डा. अधिकारीले निःशुल्क शय्या सुविधाबारे अझै सबै नागरिकसम्म पर्याप्त जानकारी पुग्न नसकेकाले सेवा उपयोग अपेक्षाकृत कम रहेको उल्लेख गर्दै जनचेतना बढ्दै जाँदा यसको उपयोग पनि थप विस्तार हुने विश्वास व्यक्त गरे।

    यसैबीच, मन्त्रालयले ‘निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ स्वीकृत गरी सार्वजनिक गरेको छ। कार्यविधिअनुसार १० प्रतिशत निःशुल्क शय्यामा भर्ना भएका बिरामीलाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

    मन्त्रालयले पोर्टललाई थप प्रभावकारी बनाउँदै लक्षित वर्गसम्म निःशुल्क उपचार सेवा सुनिश्चित गर्न आवश्यक सुधार तथा व्यवस्थापनका कार्यलाई निरन्तर अघि बढाइने जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page