logo

मंगलबार, साउन ५ २०८३

kantipurpationlinetv

२०८३ साउन ५ मंगलबार

घरटहरा हटेपछि बाह्रकिलोमा वन क्षेत्र संरक्षण, ५० बिरुवा रोपियो

घरटहरा हटेपछि बाह्रकिलोमा वन क्षेत्र संरक्षण, ५० बिरुवा रोपियो


  • मंगलबार, साउन ५ २०८३
  • 91
    SHARES

    गोरखा — गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो बजार क्षेत्रको वन अतिक्रमण हटाइएपछि उक्त क्षेत्रमा संरक्षण तथा वृक्षरोपणको काम सुरु गरिएको छ।

    करिब दुई दशकदेखि पसल तथा व्यवसाय सञ्चालनका लागि निर्माण गरिएका अस्थायी घरटहराले अतिक्रमणमा परेको वन क्षेत्रलाई पुनः संरक्षणमा ल्याउने उद्देश्यले डिभिजन वन कार्यालय गोरखाले अभियान अघि बढाएको हो।

    डिभिजन वन कार्यालयले यसअघि वन क्षेत्रभित्र निर्माण गरिएका अस्थायी संरचना हटाएर उक्त स्थानमा तारबार गरी संरक्षण गरेको छ। सोही क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेर हरियाली विस्तारको कामसमेत सुरु गरिएको डिभिजन वन अधिकृत मदनमोहन शाण्डिल्यले जानकारी दिए। उनका अनुसार कल्की, गुलमोहर, अम्बा, बकाइनो, परिजात, चाँप, वीरेन्द्र फूल, लप्सीलगायतका ५० वटा बिरुवा रोपिएको छ। रोपिएका बिरुवाको नियमित संरक्षण र हेरचाह गरी क्षेत्रलाई पुनः हराभरा बनाउने योजना रहेको उनले बताए।

    बाह्रकिलो बजार क्षेत्रको उक्त वन जग्गा लामो समयदेखि क्रमशः अतिक्रमणमा परेको थियो। सडक छेउमा रहेका वन क्षेत्रमा अस्थायी पसल, टहरा तथा व्यवसायिक संरचना निर्माण हुँदा वन क्षेत्र साँघुरिँदै गएको थियो।

    अतिक्रमणका कारण वनको प्राकृतिक स्वरूपमा असर पर्नुका साथै सडक सुरक्षा र वातावरणीय सन्तुलनमा समेत समस्या देखिएको स्थानीय बताउँछन्। विशेषगरी बाह्रकिलो चोक आसपासको भिरालो क्षेत्रमा रहेका टहरा तथा संरचनाले सवारी चालकको दृश्य अवरुद्ध गर्ने र दुर्घटनाको जोखिम बढाउने गरेको थियो।

    डिभिजन वन कार्यालयका अनुसार गत असार ३० गते वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अस्थायी संरचना हटाइएको थियो। सम्बन्धित व्यवसायी तथा संरचना प्रयोगकर्तालाई पूर्वसूचना दिएर स्वेच्छिक रूपमा संरचना हटाउन आग्रह गरिएको र त्यसपछि वन क्षेत्र खाली गराइएको कार्यालयले जनाएको छ। अतिक्रमण हटाउने क्रममा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहको समेत समन्वय रहेको थियो।

    अतिक्रमण हटाइएको क्षेत्रलाई पुनः अतिक्रमण हुन नदिन तारबार, सूचना बोर्ड राख्ने तथा नियमित अनुगमन गरिने डिभिजन वन कार्यालयले जनाएको छ। वन क्षेत्र संरक्षण, अतिक्रमण नियन्त्रण, हरियाली विस्तार र सार्वजनिक सम्पत्तिको संरक्षणलाई निरन्तर अभियानका रूपमा अघि बढाइने कार्यालयको भनाइ छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page