logo

बुधबार, साउन २० २०८३

kantipurpationlinetv

२०८३ साउन २० बुधबार

रास्वपा सांसदको हप्कीदप्कीप्रति सेनाको आपत्ति, प्रधानसेनापति सिग्देलले भेटे प्रधानमन्त्री वालेन्द्र शाहलाई

रास्वपा सांसदको हप्कीदप्कीप्रति सेनाको आपत्ति, प्रधानसेनापति सिग्देलले भेटे प्रधानमन्त्री वालेन्द्र शाहलाई


  • मंगलबार, साउन १९ २०८३
  • 3.6K
    SHARES

    काठमाडौं । काठमाडौंको गोकर्ण करिडोर विस्तारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डे र सुरक्षार्थ खटिएका नेपाली सेनाका जवानबीच भएको विवादले नयाँ मोड लिएको छ। घटनापछि प्रधानसेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री वालेन्द्र शाहसँग सिंहदरबारमा भेटवार्ता गरेका छन्।

    नेपाल ट्रस्टको स्वामित्वमा रहेको जग्गामा सञ्चालित नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्रको पर्खाल डोजर लगाएर हटाउने क्रममा सांसद पाण्डे र सैनिकबीच चर्काचर्की भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना चर्चामा आएको हो।

    करिडोर विस्तारका लागि स्थानीयवासीले जग्गा उपलब्ध गराइसकेको भन्दै सांसद पाण्डेले विकास निर्माणका काममा सबै निकायले समान मापदण्ड पालना गर्नुपर्ने बताएका थिए। आधिकारिक निर्देशनअनुसार काम भइरहेको दाबी गर्दै उनले डोजर नरोकिने अडान लिएका थिए।

    तर नेपाली सेनाले भने आवश्यक समन्वय र लिखित अनुमति बिना सैन्य क्षेत्रको पर्खाल भत्काउन नमिल्ने स्पष्ट पारेको छ। सेनाका अनुसार उक्त क्षेत्रमा सुरक्षा संवेदनशीलताका साथै वन्यजन्तु संरक्षणसम्बन्धी विषय पनि जोडिएकाले खटिएका सैनिकले काम रोक्न आग्रह गरेका थिए।

    सार्वजनिक भएको भिडियोमा सांसद पाण्डेले सुरक्षार्थ खटिएका सैनिक जवानसँग हप्कीदप्की गरेको देखिएपछि नेपाली सेनाले उक्त व्यवहारप्रति असन्तुष्टि जनाएको स्रोतहरूको भनाइ छ। सेनाले यसलाई संस्थागत मर्यादा र सुरक्षासँग जोडिएको संवेदनशील विषयका रूपमा लिएको बताइएको छ।

    घटनापछि प्रधानसेनापति सिग्देलले प्रधानमन्त्री वालेन्द्र शाहसँग सिंहदरबारमा भेट गरेका हुन्। नेपाली सेनाका प्रवक्ताले उक्त भेट नियमित कार्यसूचीअन्तर्गत भएको बताएका छन्। यद्यपि सांसद र सेनाबीचको विवादपछि भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    गोकर्ण करिडोर विस्तारका क्रममा देखिएको यो घटनाले विकास निर्माणका आयोजना, जनप्रतिनिधिको भूमिका र सुरक्षा निकायबीच आवश्यक समन्वय तथा कार्यक्षेत्रको सीमाबारे पुनः बहस सिर्जना गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page