भाद्र १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका परिवारलाई राष्ट्रिय लोकदोहोरी व्यवसायी संघले राहत सामग्री वितरण गरेको छ।
संघको केन्द्रीय कार्यालय काठमाडौंको मित्रनगरबाट महासचिव नन्दु घर्ती मगरको नेतृत्वमा गएको टोलीले विदुर नगरपालिका–९ स्थित सुलक्षणा माध्यमिक विद्यालयमा पुगेर बाढीपीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको हो। बाढीपछि उक्त विद्यालयलाई प्रभावित परिवारका लागि होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिँदै आएको छ।
संघले प्रभावित परिवारका लागि २५ सेट ब्ल्याङ्केट, २५ सेट झुल, २५ वटा सिरानी, २५ सेट डसना, २५ सेट तन्ना, चार वटा ग्यास सिलिन्डर, एक सेट भट्टी चुलो, ५० प्याकेट सेनेटरी प्याड तथा दालमोट र फुरुङ्गदाना दुई बोरा उपलब्ध गराएको हो।
राहत वितरण कार्यक्रममा संघका निवर्तमान अध्यक्ष गुणराज खनाल, सचिव सुनिल लामिछाने, कोषाध्यक्ष राम भण्डारी, सदस्य उत्तम भण्डारीलगायत सहभागी थिए।

प्राकृतिक विपत्तिका कारण नुवाकोटवासीले भोग्नुपरेको क्षतिप्रति दुःख व्यक्त गर्दै संघले सामाजिक उत्तरदायित्वअन्तर्गत राहत वितरण गरिएको जनाएको छ।
राहत सामग्री बुझ्दै पीडितहरूले अन्य संघसंस्था तथा निकायबाट खाद्यान्न र राशन सामग्री प्राप्त भए पनि लत्ताकपडा, सिरक, डसना र झुलजस्ता सामग्री भने पहिलोपटक प्राप्त भएको बताएका छन्। आवश्यक सामग्री प्राप्त भएपछि होल्डिङ सेन्टरमा रहेका प्रभावित परिवारलाई केही राहत मिलेको उनीहरूको भनाइ छ।
संघका अध्यक्ष दीपसागर थापा मगरले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु संस्थाको सामाजिक दायित्व भएको बताए।
“सुखमा मात्रै होइन, दुःख र अप्ठ्यारो परिस्थितिमा पनि राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ आफ्ना सदस्य र प्रभावित नागरिकको साथमा छ,” उनले भने।
संघका निवर्तमान अध्यक्ष गुणराज खनालले प्रभावित क्षेत्रको अवस्था प्रत्यक्ष अवलोकन गर्दा निकै पीडादायी अवस्था देखिएको बताए। बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउने उद्देश्यले टोली नुवाकोट पुगेको उनले बताए।
संघका सचिव सुनिल लामिछानेले प्रभावित परिवारलाई तत्काल राहत पुग्ने गरी आवश्यक सामग्री उपलब्ध गराउन संघले पहल गरेको बताए। राहत वितरणसँगै प्रभावित परिवारको अवस्था बुझ्ने तथा आगामी दिनमा आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने कामसमेत भइरहेको उनले जानकारी दिए।
यसैबीच, संघका कोषाध्यक्ष राम भण्डारीको परिवारसमेत भोटेकोशी बाढीबाट प्रभावित भएको छ। उनका बुवा र भाउजु बाढीपछि अझै बेपत्ता छन्। आफन्त बेपत्ता रहेको पीडाबीच पनि भण्डारी राहत वितरण टोलीसँगै प्रभावित क्षेत्रमा पुगेका थिए।

संघका अनुसार राहत वितरणको दुई दिनअघि टोली सोही क्षेत्रमा पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै खोज तथा उद्धारमा समेत जुटेको थियो। त्यसक्रममा प्रभावित परिवारको अवस्था र तत्काल आवश्यक सामग्रीबारे जानकारी लिएपछि संघले राहत सामग्रीसहित पुनः प्रभावित क्षेत्रमा पुगेर सहयोग गरेको हो।
भोटेकोशीमा आएको बाढीका कारण नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीबाट घर तथा सम्पत्ति गुमाएका परिवार अहिले अस्थायी आश्रयस्थल तथा होल्डिङ सेन्टरमा बस्दै आएका छन्। प्रभावित क्षेत्रमा अझै पनि खाद्यान्नसँगै लत्ताकपडा, ओढ्ने–ओछ्याउने सामग्री तथा दैनिक उपभोग्य वस्तुको आवश्यकता रहेको बताइएको छ।
राष्ट्रिय लोकदोहोरी व्यवसायी संघले आगामी दिनमा पनि प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी राहत तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

-
टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरीलाई ‘उत्कृष्ट दोहोरी साँझ व्यवसायी सम्मान’
-
टप दरबार रोधी क्लबको भव्य उद्घाटन, चर्चित कलाकारको प्रस्तुतिमा झुमे अतिथिहरू
-
शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
-
भोटेकोशी बाढीपीडितलाई लोकदोहोरी व्यवसायी संघको राहत, सिरक–डसनादेखि चुलोसम्म सहयोग
-
तीजमा छमछमी नचाउने ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक