logo

मंगलबार, भाद्र ९ २०८३

kantipurpationlinetv

२०८३ भाद्र ९ मंगलबार

सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्ने विषय सरकारको प्राथमिकतामा : मन्त्री प्रतिभा रावल

सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्ने विषय सरकारको प्राथमिकतामा : मन्त्री प्रतिभा रावल


  • मंगलबार, भाद्र ९ २०८३
  • 21
    SHARES

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीको रकम अपचलन तथा हिनामिनासँग जोडिएका सम्पत्ति खोजी गरी बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई सरकारले तीव्रता दिएको बताएकी छन् ।

    डडेलधुरामा मंगलबार सहकारीपीडितसँग छलफल गर्दै मन्त्री रावलले बचतकर्ताको रकम फिर्ता गर्नु सरकारको प्राथमिकतामा रहेको बताइन् । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको समस्या बुझ्न आफू डडेलधुरा आएको बताउँदै उनले १० हजार रुपैयाँभन्दा कम बचत भएका करिब ४ हजार बचतकर्ताको रकम फिर्ता भइसकेको जानकारी दिइन् ।

    बाँकी बचतकर्ताको रकम पनि दावासाहीका आधारमा फिर्ता गर्ने निर्णय भएको उनले बताइन् । ‘सबै बचतकर्तालाई दावासाही हिसाबले रकम फिर्ता गर्ने निर्णय भएको छ,’ उनले भनिन् ।

    मन्त्री रावलका अनुसार सहकारी तथा सहकारीको लगानी रहेका मार्ट र भवनको मूल्यांकन सम्पन्न भइसकेको छ । ती सम्पत्ति लिलामी गरेर प्राप्त रकम बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिइन् ।

    सहकारीका सञ्चालक, ऋणी तथा कर्मचारीसँग सम्बन्धित सम्पत्ति र बैंक खाताको विवरण रोक्का तथा खोजीका लागि सम्बन्धित निकायलाई पत्राचार गरिएको पनि उनले बताइन् । सहकारी तथा सञ्चालकहरूको लगानी रहेका विभिन्न कम्पनी र उद्योगको सम्पत्तिसमेत खोजी भइरहेको उनको भनाइ छ ।

    सहकारीबाट ठूलो रकम हिनामिना भएको देखिए पनि सञ्चालकसँग तत्काल देखिने सम्पत्ति पर्याप्त नरहेको भन्दै मन्त्री रावलले सम्पत्तिको वास्तविक अवस्था पत्ता लगाउन थप छानबिन आवश्यक रहेको बताइन् ।

    सहकारीपीडितहरूले भने आफ्नो बचत रकम फिर्ताका लागि सम्पत्ति खोजी, लिलामी तथा कानुनी प्रक्रियालाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page