काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको ‘टप दरबार रोधी क्लब’को भव्य उद्घाटन गरिएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले रिबन काटेर क्लबको औपचारिक उद्घाटन गरेका हुन्।
टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरीको सभापतित्वमा भएको उद्घाटन समारोहमा नेपाली लोक तथा दोहोरी क्षेत्रका कलाकार, संगीतकर्मी, निर्माता, निर्देशक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्षहरू चन्द्र शर्मा र बद्री पंगेनी, इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष कृष्ण कँडेल, नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठ, रात्रिकालीन मनोरञ्जन व्यवसायी संघका अध्यक्ष आशिष खड्का, राष्ट्रिय संगीतकर्मी संघ नेपालका अध्यक्ष प्रकाश कटुवाल, प्रस्तोता समाजका अध्यक्ष नरहरि प्रेमी, निर्माता तथा निर्देशक नारायण पुरी र राष्ट्रिय खेलाडी यज्ञलाल श्रेष्ठलगायतको उपस्थिति थियो।
त्यस्तै, चर्चित गायिका ज्योति मगर, गायक दुर्गेश थापा, सम्झना लामिछाने मगर तथा गायक प्रेम लोप्चनलगायत कलाकार पनि उद्घाटन समारोहमा सहभागी थिए।
उद्घाटन समारोहमा उपस्थित कलाकार तथा अतिथिलाई टप दरबारमा आबद्ध कलाकारले स्वागत नृत्य तथा मयुर नाचमार्फत स्वागत गरेका थिए। पञ्चेबाजासहित गरिएको स्वागतले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
करिब २०० जनाभन्दा बढी दर्शक अट्ने क्षमता रहेको क्लब उद्घाटनकै दिन पाहुना तथा दर्शकले भरिभराउ भएको थियो। राष्ट्रियस्तरका चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुतिमा उपस्थित अतिथि तथा दर्शक रमाएका थिए।
कार्यक्रममा सिन्धुली कलाघरका कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो। गायक प्रेम लोप्चनले आफ्ना चर्चित सेलो गीत प्रस्तुत गर्दै उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए। त्यस्तै, गायिका सम्झना लामिछाने मगर र ज्योति मगरले आफ्ना चर्चित गीत प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन गराएका थिए।
टप दरबारमा आबद्ध नेपालका ख्यातिप्राप्त कलाकारहरूले समेत नियमित सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा लोकप्रिय गायक तथा स्टेज प्रस्तोता दुर्गेश थापालाई विशेष सम्मान गरिएको थियो। राष्ट्रिय खेलाडी यज्ञलाल श्रेष्ठलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठले दोहोरी साँझको बीचमा टप दरबारले फरक पहिचान बनाउन सफल भएको बताए । “फरक किसिमको डेकोरेसन र व्यवस्थापनसहित दोहोरीलाई पनि यति राम्रो र स्तरीय ढंगले सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण टप दरबारले प्रस्तुत गरेको छ,” उनले भने, “यो दोहोरी व्यवसायमा नयाँ आयाम थप्ने प्रयास हो। क्लबको सफलताको शुभकामना व्यक्त गर्दछु।”
इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष कृष्ण कँडेलले टप दरबार नेपाली मौलिक कला र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने दीर्घकालीन थलोका रूपमा स्थापित होस् भन्ने शुभकामना दिए। “नेपाली मौलिक कला, संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने दीर्घकालीन ठाउँका रूपमा टप दरबार स्थापित होस्। टप दरबार रोधी क्लब जुगौँजुग चलिरहोस्,” उनले भने।
राष्ट्रिय संगीतकर्मी संघ नेपालका अध्यक्ष प्रकाश कटुवालले नेपालमा सयौँ दोहोरी साँझ सञ्चालनमा रहे पनि यति ठूलो लगानीमा बनेको दोहोरी क्लब आफैंमा नयाँ अभ्यास भएको बताए। “नेपालमा सयौँ दोहोरी साँझ खुलेका छन्। तर यति ठूलो लगानीमा बनेको र यति स्तरीय संरचनासहितको दोहोरी क्लब हामीले विदेशमा समेत कमै देखेका थियौँ। आज नेपालमै यस्तो स्तरको दोहोरी साँझ देख्न पाएका छौँ,” उनले भने । कटुवालले सञ्चालक अशोक गिरीको दोहोरी व्यवसायको यात्राको प्रशंसा गर्दै आफू पनि उनको कामबाट प्रभावित भएर दोहोरी व्यवसायमा लागेको बताए।
प्रस्तोता समाजका अध्यक्ष नरहरि प्रेमीले टप दरबार प्रवेश गर्नेबित्तिकै आफूलाई विदेशको कुनै स्तरीय रेस्टुरेन्ट वा क्लबमा पुगेजस्तो अनुभूति भएको बताए। “यहाँको स्तरीयता, गुणस्तर, सेवा–सुविधा र सजावट निकै आकर्षक छ। नेपाली दोहोरीलाई पनि यति व्यवस्थित र आधुनिक ढंगले प्रस्तुत गर्न सकिन्छ भन्ने टप दरबारले देखाएको छ,” उनले भने।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष चन्द्र शर्माले दोहोरी साँझको पुरानो अवस्थादेखि अहिलेको स्वरूपसम्म आइपुग्दा व्यवसायी र कलाकारले गरेको मेहनतको प्रशंसा गरे। “हिजो पलेँटी कसेर दुःखसुख गर्दै दोहोरी साँझमा काम गर्दै अघि बढेको अवस्था थियो। आज दोहोरी व्यवसायीहरूको अथाह मेहनतपछि यति महँगो र स्तरीय दोहोरी खुलेको छ,” उनले भने, “कलाकारहरूले दोहोरी साँझलाई मन्दिर सम्झेर काम गर्नुपर्छ। यही मञ्चबाट भोलिका स्टार कलाकार जन्मिऊन् भन्ने शुभकामना छ।”
चलचित्र विकास बोर्डका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दिनेश डिसीले टप दरबारको संरचना र व्यवस्थापनको प्रशंसा गरे। “मध्यरातमा प्रमुख अतिथि भएर प्रमाणपत्र पाएको यो गिनिज बुकमै लेख्नुपर्ने खालको अविस्मरणीय क्षण हो,” उनले भने, “टप दरबार रोधी क्लब विदेशका कुनै रेस्टुरेन्ट वा क्लबभन्दा कम छैन। यहाँका विशेषता, सजावट र व्यवस्थापन निकै प्रशंसनीय छन्।”
कार्यक्रममा उपस्थित अतिथि तथा कलाकारहरूले पनि टप दरबारले नेपाली दोहोरी तथा मनोरञ्जन व्यवसायमा नयाँ आयाम थपेको बताएका थिए।
क्लबका सञ्चालक अशोक गिरीले लामो समयदेखिको दोहोरी तथा रोधी व्यवसायको अनुभवलाई नयाँ अवधारणासहित अघि बढाउने उद्देश्यले टप दरबार सञ्चालनमा ल्याइएको बताए । उनले टप दरबारलाई केवल मनोरञ्जनको स्थलका रूपमा नभई नेपाली लोकसंगीत, मौलिक कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने व्यवस्थित मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । “रोधी तथा दोहोरी व्यवसायलाई व्यवस्थित, मर्यादित र पारिवारिक वातावरणमा अघि बढाउँदै स्थापित कलाकारसँगै नयाँ प्रतिभालाई पनि अवसर दिने हाम्रो उद्देश्य हो,” गिरीले भने, “नेपाली मौलिक कला, संस्कृति र लोकसंगीतलाई नयाँ पुस्तासम्म पुर्याउन टप दरबारले निरन्तर काम गर्नेछ।”
करिब ७ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको क्लबमा प्रत्यक्ष सांगीतिक प्रस्तुति, स्तरीय सेवा तथा पारिवारिक वातावरणलाई प्राथमिकता दिइएको छ। क्लबले १०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारीसमेत दिएको जनाएको छ।
उद्घाटन कार्यक्रमको सञ्चालन कलाकार दिनेश क्षेत्रीले गरेका थिए। भदौ ५ देखि ७ गतेसम्म सञ्चालन हुने उद्घाटन समारोहमा नेपालका चर्चित कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने क्लबले जनाएको छ।
नेपाली लोकदोहोरी, सेलो तथा अन्य सांगीतिक विधाका प्रस्तुतिसहित आयोजना गरिएको तीनदिने उद्घाटन कार्यक्रमलाई नेपाली कला, संस्कृति र मनोरञ्जनको विशेष उत्सवका रूपमा अघि बढाइएको क्लबले जनाएको छ।
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
जन्मदिनमा फजुल खर्च कटाएर मानव सेवा आश्रमका वृद्धवृद्धालाई भोजन गराइन् गायिका मधु रसाइलीले
-
गोरखाली गायक पारस राज अधिकारीको नयाँ तीज गीत ‘मुस्काउँदा मुसुक्क’ सार्वजनिक
-
प्रहरी कर्मचारीले वाणिज्य बैंकबाट सहुलियत ब्याजदरमा ५० लाखसम्म कर्जा पाउने