राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले प्रतिष्ठानमा आबद्ध कलाकार तथा उनीहरूका परिवारलाई दुःख, विपद् तथा आपत्कालीन परिस्थितिमा आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था गरेको छ। कलाकारको मृत्यु, परिवारका सदस्यको मृत्यु, उपचार तथा धनसम्पत्तिमा क्षति पुगेको अवस्थामा निश्चित मापदण्डका आधारमा राहत उपलब्ध गराउने व्यवस्था गरिएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका अनुसार आबद्ध कलाकारको मृत्यु भएमा निजका श्रीमान्/श्रीमती, छोरा/छोरी वा एकाघरका परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइनेछ। त्यस्तै, आबद्ध कलाकारका आमा/बुवा, श्रीमान्/श्रीमती वा छोरा/छोरीको मृत्यु भएमा ३० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिने व्यवस्था गरिएको छ।
कलाकार दुर्घटना वा अन्य कारणबाट घाइते भई उपचार गर्नुपर्ने अवस्था आएमा उपचार खर्चबापत २५ हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराइनेछ। सम्बन्धित कलाकारको अवस्था तथा उपचारको गम्भीरता हेरी आवश्यकताअनुसार उक्त सहयोग रकम बढाउन सकिने व्यवस्था समेत गरिएको प्रतिष्ठानले जनाएको छ।
यसैगरी, प्राकृतिक विपत्ति, दुर्घटना वा अन्य कारणबाट कलाकारको धनसम्पत्तिमा क्षति पुगेमा २० हजार रुपैयाँसम्म आर्थिक राहत उपलब्ध गराइनेछ।
प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले कलाकारको हित, संरक्षण तथा सामाजिक सुरक्षालाई संस्थाले उच्च प्राथमिकतामा राखेको बताइन्।
‘लोक तथा दोहोरीगीत क्षेत्रका कलाकारहरूले नेपाली मौलिक कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएका छन्। उनीहरू कठिन परिस्थितिमा पर्दा संस्थागत रूपमा साथ दिनु प्रतिष्ठानको दायित्व हो,’ अध्यक्ष थापा मगरले भनिन्। उनले राहत तथा सहयोगको व्यवस्था कलाकारलाई संकटको समयमा संस्थागत संरक्षण र भरोसा प्रदान गर्ने उद्देश्यले गरिएको बताइन्। ‘कलाकारको सुखमा मात्र होइन, दुःख र अप्ठ्यारो परिस्थितिमा पनि प्रतिष्ठान उनीहरूको साथमा छ भन्ने विश्वास कायम गराउनु हाम्रो प्राथमिकता हो,’ उनले भनिन्।
अध्यक्ष थापा मगरले कलाकारको योगदानको सम्मानसँगै उनीहरूको सामाजिक सुरक्षालाई थप मजबुत बनाउन प्रतिष्ठानले आगामी दिनमा समेत आवश्यक कार्यक्रम तथा सहयोगका पहललाई निरन्तरता दिने बताइन्।
यसैबीच, प्रतिष्ठानले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
विपद्को अवस्थाबारे जानकारी लिन तथा प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न केही दिनअघि अध्यक्ष रिता थापा मगरसहित प्रतिष्ठानको टोलीले स्थलगत अवलोकनसमेत गरेको थियो। टोलीले स्थलगत रूपमा प्रभावित क्षेत्रको अवस्था, क्षतिको प्रकृति तथा आवश्यक सहयोगका विषयमा जानकारी लिएको थियो। स्थलगत अवलोकनबाट प्राप्त जानकारी तथा विपद्को अवस्थालाई मध्यनजर गर्दै प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा उक्त रकम सहयोग गरेको जनाएको छ। अध्यक्ष थापा मगरले कलाकारको हकहित र सामाजिक सुरक्षासँगै विपद्का समयमा समाज तथा राष्ट्रप्रति संस्थाको जिम्मेवारी निर्वाह गर्नु पनि प्रतिष्ठानको दायित्व भएको बताइन्।
‘कलाकारको हित र संरक्षण हाम्रो प्रमुख जिम्मेवारी हो। तर समाज र राष्ट्रलाई अप्ठ्यारो परेको बेला आफ्नो क्षमताअनुसार सहयोग गर्नु पनि हाम्रो सामाजिक दायित्व हो,’ उनले भनिन्।
प्रतिष्ठानका अनुसार राहत तथा आर्थिक सहयोग उपलब्ध गराउँदा सम्बन्धित घटनाको प्रकृति, कलाकारको अवस्था, आवश्यक प्रमाण तथा प्रतिष्ठानका प्रचलित नियम र निर्णयलाई आधार बनाइनेछ।
कलाकारको हकहित, संरक्षण र सामाजिक सुरक्षाका क्षेत्रमा संस्थागत पहललाई निरन्तरता दिँदै प्रतिष्ठानले लोक तथा दोहोरीगीत क्षेत्रका कलाकारलाई आवश्यक परेको समयमा सहयोग र सहकार्य उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
-
टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरीलाई ‘उत्कृष्ट दोहोरी साँझ व्यवसायी सम्मान’
-
टप दरबार रोधी क्लबको भव्य उद्घाटन, चर्चित कलाकारको प्रस्तुतिमा झुमे अतिथिहरू
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा