काठमाडौं । रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ। कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले सोमबार अर्थमन्त्रीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो।
चेक हस्तान्तरणका लागि महामन्त्री पौडेलसँगै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायत नेताहरू अर्थ मन्त्रालय पुगेका थिए। केही दिनअघि भोटेकोशी, त्रिशूलीलगायत नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीका कारण कैयौँ परिवार विस्थापित हुनुका साथै सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति भएको छ।
रकम हस्तान्तरण गर्दै महामन्त्री पौडेलले विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित आवासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। उनले बाढीपहिरोका कारण सुरुङमार्गलगायत विभिन्न स्थानमा फसेका तथा अलपत्र परेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरे।
“सुरुङमा फसेका र अलपत्र परेका नागरिकको उद्धारमा जुन ढिलासुस्ती देखिएको छ, यसलाई तत्काल सच्याएर उद्धारलाई तीव्रता दिन म सरकारसँग आग्रह गर्दछु,” पौडेलले भने।
उनले त्रिशूली र भोटेकोशी आसपासका प्रभावित नागरिकको उद्धार तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई युद्धस्तरमा अघि बढाउन, राहत वितरणलाई पारदर्शी बनाउन तथा समग्र विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए। बेपत्ताको खोजी, विस्थापितको दीर्घकालीन पुनर्स्थापना तथा राहतका काममा सरकारलाई आवश्यक पर्ने सहयोग गर्न कांग्रेस तयार रहेको उनले बताए।
कांग्रेसले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अन्य सहयोगका लागि पार्टीका विभिन्न संरचना परिचालन गर्दै आएको जनाएको छ। सभापति गगन थापाको नेतृत्वमा सरकारलाई सुझाव दिने, दबाब तथा ध्यानाकर्षण गराउने काम भइरहेको र थापा स्वयं दुईपटक प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा पुगिसकेको कांग्रेसले जनाएको छ।
-
टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरीलाई ‘उत्कृष्ट दोहोरी साँझ व्यवसायी सम्मान’
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा