काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेको करिब तीन वर्षमै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका तथा मोडल रिया खत्रीले नयाँ सांगीतिक प्रस्तुति ‘युके शहर’ सार्वजनिक गरेकी छन्। शुक्रबार राजधानीमा आयोजित विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको गीत अहिले रिया खत्रीको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक तथा श्रोतामाझ पुगेको छ।
रिया खत्री र गायक क्रिश क्षेत्रीको स्वर तथा अभिनय रहेको ‘युके शहर’लाई रियाले आफ्नो सांगीतिक यात्राको नयाँ अध्यायका रूपमा लिएकी छन्। नेपालसँगै विदेशमा रहेका नेपाली दर्शक तथा श्रोतालाई लक्षित गरी तयार पारिएको उक्त गीत लामो मेहनत, संघर्ष र तयारीपछि सार्वजनिक गरिएको उनले बताएकी छन्।
“‘युके शहर’ मेरो लागि एउटा गीत मात्र होइन, मेरो सांगीतिक यात्राको एउटा सुन्दर सपना पनि हो,” रियाले भनिन्, “धेरै मेहनत र उत्साहका साथ तयार गरेको यो प्रस्तुतिलाई नेपाल र विदेशमा रहनुभएका नेपाली दर्शक–श्रोताले माया गरिदिनुहुनेछ भन्ने विश्वास छ।”
करिब तीन वर्षको सांगीतिक यात्रामा रियाले आफ्नै तीनवटा एल्बम सार्वजनिक गरिसकेकी छन् भने दर्जनौँ गीतमा स्वर दिनुका साथै विभिन्न लाइभ दोहोरी कार्यक्रममा समेत प्रस्तुति दिँदै आएकी छन्। गायनसँगै मोडलिङमा सक्रिय उनले विभिन्न म्युजिक भिडियो तथा सांगीतिक प्रस्तुतिमा अभिनयसमेत गरेकी छन्।
रियाको सांगीतिक यात्रा नेपालमा मात्र सीमित छैन। उनले नेपालका विभिन्न जिल्लामा प्रस्तुति दिनुका साथै मलेसिया, सिंगापुर, थाइल्यान्ड, कम्बोडिया, लाओस, भियतनाम, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन र भारतलगायतका देशमा समेत नेपाली समुदायमाझ सांगीतिक प्रस्तुति दिइसकेकी छन्।
विदेशमा रहेका नेपाली समुदायसँग प्रत्यक्ष जोडिँदा नेपाली गीत–संगीतप्रतिको उनीहरूको माया र अपनत्वलाई नजिकबाट अनुभव गरेको रियाले बताइन्। यही अनुभवलाई ‘युके शहर’मार्फत अझ व्यापक रूपमा दर्शकमाझ पुर्याउन खोजिएको उनको भनाइ छ।
नेपालबाहिर रहेका नेपाली समुदायलाई समेत लक्षित गरी तयार गरिएको ‘युके शहर’मार्फत संसारका जुनसुकै कुनामा रहे पनि नेपाली भाषा, संस्कृति र संगीतसँग जोडिएका नेपालीको मनसम्म पुग्ने आफ्नो उद्देश्य रहेको रियाले बताएकी छन्।
गीत सार्वजनिक गरेसँगै उनले दर्शक तथा श्रोतालाई गीत हेरेर प्रतिक्रिया दिन र मन परे साथीभाइ तथा आफन्तसम्म पुर्याइदिन आग्रह गरेकी छन्। उनका अनुसार दर्शकको लाइक, कमेन्ट र सेयर आगामी सांगीतिक यात्राका लागि महत्वपूर्ण हौसला हुनेछ।
‘युके शहर’ अहिले रिया खत्रीको आधिकारिक युट्युव च्यानलमा सार्वजनिक भइसकेको छ।
-
कलाकारितापछि राजनीतिमा प्रकाश कटुवाल, कांग्रेस महाधिवेशन प्रतिनिधिमा भिड्दै
-
दोहोरी गीत प्रतिष्ठान उपत्यका समितिद्वारा संगीत प्रशिक्षण कक्षा शुभारम्भ
-
मुग्लिङ बजारमा गीत विमोचनसँगै कलाकार तथा सञ्चारकर्मीहरु सम्मानित
-
खेम सेन्चुरीले नारायण रायमाझीको ‘बसन्ती’बाट फिल्ममा डेब्यु गर्ने
-
भदौ महिनाको उत्कृष्ट प्रहरी बने प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी