भक्तपुर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सीपमूलक तालिमलाई रोजगारी र आत्मनिर्भरतासँग जोड्नुपर्ने बताएका छन्। युवालाई प्रमाणपत्रमा मात्र सीमित नराखी व्यावहारिक सीप प्रदान गर्दै श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा उनले जोड दिएका हुन्।
भक्तपुरको दधिकोटमा स्थापना गरिएको एभरेस्ट मल्टी स्किल्स प्राइभेट लिमिटेडको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री यादवले तालिमपछि प्रशिक्षार्थीले रोजगारी प्राप्त गर्ने र उद्यमशीलतामा जोडिने वातावरण निर्माण गर्नुपर्ने बताए।
‘युवालाई प्रमाणपत्र मात्र होइन, काम गर्ने सीप दिनुपर्छ। तालिम मात्र होइन, रोजगारीसँग जोड्ने अवसर पनि दिनुपर्छ,’ उनले भने।
श्रम बजारमा दक्ष जनशक्तिको माग बढ्दै गए पनि आवश्यक सीपको अभावमा युवाले रोजगारी प्राप्त गर्न कठिनाइ भोगिरहेको उल्लेख गर्दै मन्त्री यादवले उद्योग, निर्माण, पर्यटन, कृषि, सूचना प्रविधि तथा सेवा क्षेत्रको आवश्यकताअनुसार तालिम सञ्चालन गर्नुपर्ने बताए।
तालिम लिनेको सङ्ख्या र प्रमाणपत्र वितरणलाई मात्र सफलताको आधार मान्न नहुने उनको भनाइ थियो। तालिमपछि कति जनाले रोजगारी पाए, कति जनाले आफ्नै उद्यम सुरु गरे र उनीहरूको आम्दानीमा कस्तो सुधार आयो भन्ने आधारमा कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्नुपर्ने उनले बताए।
मन्त्री यादवले सीप विकासलाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र, तालिम प्रदायक संस्था र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। निजी क्षेत्रको अनुभव, लगानी र प्राविधिक ज्ञानलाई तालिमसँग जोड्न सके श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
युवालाई विदेश जानबाट रोक्नु मात्र सरकारको उद्देश्य नभएको स्पष्ट पार्दै उनले नेपालमै सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताए। वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत दक्ष, सुरक्षित र मर्यादित बनाउन सीप विकासलाई रोजगारी नीतिसँग जोडेर अघि बढाउनुपर्नेमा उनले जोड दिए।
एनआरएनए उपाध्यक्ष न्यौपानेको पहलमा सीप विकास केन्द्र
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष खगेन्द्र न्यौपानेको नेतृत्वमा स्थापना गरिएको एभरेस्ट मल्टी स्किल्सले युवालाई प्राविधिक तथा व्यावसायिक तालिम प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।
नेपाल र मलेसियामा व्यवसाय गर्दै आएका न्यौपानेले विदेशमा हासिल गरेको अनुभव, ज्ञान र सीपलाई स्वदेशको सीप विकास क्षेत्रमा उपयोग गर्ने उद्देश्यले संस्था स्थापना गरिएको बताए।
उद्घाटन समारोहमा बोल्दै न्यौपानेले आवश्यक सीप र दक्षताविना वैदेशिक रोजगारीमा जाँदा श्रमिकले आफ्नो श्रमअनुसारको प्रतिफल प्राप्त गर्न कठिन हुने बताए।
‘अदक्ष व्यक्तिलाई दक्ष बनाएर मात्र स्वदेश तथा विदेशमा काम गर्दा राम्रो हुन्छ,’ उनले भने।
सीपको अभावमा श्रमिकले न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, कार्यस्थलमा जोखिम सामना गर्नुपर्ने र व्यावसायिक उन्नतिका अवसर सीमित हुन सक्ने उल्लेख गर्दै न्यौपानेले वैदेशिक रोजगारीमा जानुअघि आवश्यक सीप हासिल गर्न युवालाई आग्रह गरे।
उनका अनुसार संस्थाले आवासीय सुविधासहित विभिन्न क्षेत्रमा सीपमूलक तालिम सञ्चालन गर्ने लक्ष्य राखेको छ। युवालाई स्वदेशमै रोजगारी तथा स्वरोजगारका अवसर खोज्न र वैदेशिक रोजगारीमा दक्ष श्रमिकका रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनु संस्थाको उद्देश्य रहेको उनले बताए।
संस्थाका सञ्चालक अनन्तराम खड्काले विदेशमा रहँदा प्राप्त गरेको अनुभव र ज्ञानलाई स्वदेशमै उपयोग गर्ने उद्देश्यले संस्था सञ्चालनमा ल्याइएको बताए। आवासीय सुविधासहित तालिम सञ्चालन गर्ने योजनाले प्रशिक्षार्थीलाई सिकाइमा केन्द्रित हुन सहज वातावरण उपलब्ध गराउने उनको भनाइ थियो।
उनले व्यावहारिक ज्ञान र प्राविधिक सीपलाई प्राथमिकता दिँदै प्रशिक्षार्थीलाई व्यावसायिक रूपमा सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरे। तालिमलाई श्रम बजारको मागअनुसार सञ्चालन गर्न सके युवालाई रोजगारी खोज्न, स्वरोजगार बन्न र उपलब्ध अवसरको सदुपयोग गर्न सहज हुने अपेक्षा गरिएको छ।
स्थानीयस्तरमै सीप विकासको अवसर
कार्यक्रममा सांसद राजीव खत्रीले स्थानीय क्षेत्रमा सीप विकास तथा व्यावसायिक तालिम केन्द्र स्थापना हुनु सकारात्मक भएको बताए। यस्ता संस्थाले युवालाई दक्ष बनाउँदै व्यावसायिक क्षेत्रमा प्रवेश गर्न र रोजगारीका अवसर खोज्न सहयोग पुर्याउन सक्ने उनको भनाइ थियो। उनले संस्थाको सफलताको कामना गर्दै स्थानीयस्तरमा सीप विकासका कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
सोही अवसरमा सांसद खत्रीले बडादसैँको सुरुवातकै दिन गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीप्रति दुःख व्यक्त गरे। भोटेकोशी क्षेत्रमा यसअघि आएको बाढीपछि बूढीगण्डकी क्षेत्रमा समेत प्राकृतिक विपद् निम्तिएको उल्लेख गर्दै उनले मुलुकले पटक–पटक विपद्को सामना गर्नुपरेको बताए।
नेपालमा एकातिर ठूलो सङ्ख्यामा युवा रोजगारीको खोजीमा विदेशिने क्रम जारी छ भने अर्कातिर विभिन्न उद्योग तथा सेवा क्षेत्रमा दक्ष कामदारको माग छ। यस्तो अवस्थामा तालिमलाई श्रम बजारको आवश्यकता, व्यावहारिक दक्षता र रोजगारीका अवसरसँग जोड्नु महत्त्वपूर्ण मानिन्छ।
एभरेस्ट मल्टी स्किल्सले अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। संस्थाको प्रभावकारिता भने तालिमको गुणस्तर, दक्ष प्रशिक्षकको उपलब्धता, बजारको मागअनुसार सीप प्रदान गर्ने क्षमता र तालिमपछि प्रशिक्षार्थीले प्राप्त गर्ने रोजगारीका अवसरबाट मापन हुनेछ।
तालिम पूरा गरेका युवालाई रोजगारी, स्वरोजगार र व्यावसायिक उन्नतिसँग जोड्न सके संस्थाले सीप विकासको क्षेत्रमा योगदान पुर्याउन सक्ने अपेक्षा गरिएको छ।
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय कार्यसमितिमा गोरखाका तीनजना
-
९औँ राष्ट्रिय लोकदोहोरी अवार्डलाई सहयोग गर्नेलाई सम्मान, संगीत र प्रविधिबारे अन्तरक्रिया
-
कांग्रेस केन्द्रीय सदस्यमा दिपक बाबु कँडेलको दाबी, उत्पादन र रोजगारीलाई प्राथमिकता दिने एजेन्डा
-
इन्स्पेक्टर प्रदीप सुवेदी गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी
-
मुस्लिम संघको नेतृत्वदेखि कांग्रेस सहमहामन्त्रीको दाबीसम्म अब्दुल सत्तार