काठमाडौं — नेपालमा मासुजन्य प्रयोजनका लागि ढुवानी गरिने पशुपन्छीलाई अझै पनि असुरक्षित र अमानवीय तरिकाले ओसारपसार गर्ने गरिएको पाइएको छ। क्षमताभन्दा बढी पशुपन्छी कोचेर, पर्याप्त ठाउँ, पानी र आरामको व्यवस्थाबिनै लामो दूरीसम्म ढुवानी गर्ने गरिएको हो। नेपाल पशु कल्याण तथा वातावरण समाज (NAWES) ले We Animals Canada को सहयोगमा गरेको स्थलगत अवलोकन तथा तस्बिर र श्रव्यदृश्य सङ्कलनका क्रममा पशु ढुवानीमा पशु कल्याणसम्बन्धी आधारभूत मापदण्डसमेत पालना नभएको जनाएको छ।
नावेसले काठमाडौंमा सञ्चारकर्मीसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरेको विवरणअनुसार कैलाली, टीकापुर र अत्तरियालगायत सुदूरपश्चिमका क्षेत्रबाट काठमाडौंसम्म राँगा–भैँसी ल्याउन ४८ देखि ७२ घण्टासम्म लाग्ने गरेको छ। तर, यति लामो यात्रामा समेत कतिपय पशुलाई पानी, दाना र आरामको व्यवस्था नगरी ढुवानी गर्ने गरिएको पाइएको छ।
नावेसका निर्देशक हरि जोशीका अनुसार एउटै ट्रकमा क्षमताभन्दा बढी पशु कोचेर ल्याउने, पर्याप्त ठाउँ नदिने तथा असुरक्षित तरिकाले बाँधेर ढुवानी गर्ने गर्दा पशुहरूलाई चोटपटक लाग्ने र शारीरिक तथा मानसिक पीडा हुने गरेको छ। ‘लामो दूरीको यात्रामा पशुलाई पानी खुवाउने, खाना दिने र आराम गराउने व्यवस्था हुनुपर्ने हो। तर, एउटै ट्रकमा क्षमताभन्दा बढी पशु कोचेर ल्याउने गरिएको छ। यसक्रममा उनीहरूलाई चोटपटक लाग्ने र पीडा भोग्नुपर्ने अवस्था छ,’ जोशीले भने।
राँगा–भैँसीलाई विशेष प्रयोजनका सवारीसाधनको सट्टा तरकारी तथा अन्य सामान ढुवानी गर्ने ट्रकमा समेत ओसार्ने गरिएको पाइएको छ। त्यस्तै, बाख्रालाई कोचाकोच गरेर असुरक्षित तरिकाले बाँध्ने, मानिस बोक्ने बसको छत तथा डिकीमा राखेर ल्याउने र कुखुरालाई पर्याप्त हावा आवतजावत नहुने साना क्रेटमा राखेर ढुवानी गर्ने गरिएको नावेसले जनाएको छ। नावेसका अनुसार काठमाडौंमा पशुपन्छी कैलाली, टीकापुर, अत्तरिया, नेपालगञ्ज, बर्दिया, नवलपरासी, बारा, जनकपुर र विराटनगरलगायत क्षेत्रबाट ल्याउने गरिएको छ। ढुवानीका क्रममा देखिएका समस्यालाई उजागर गर्न सङ्कलन गरिएका तस्बिर तथा भिडियोसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो। जोशीले पशुपन्छीको व्यापार तथा मासु व्यवसायको विरोध नभई व्यवसाय सञ्चालनका क्रममा जनावरमाथि हुने क्रूर व्यवहार रोक्नुपर्नेमा जोड दिए। ‘पशु पनि जीवित प्राणी हुन्। उनीहरूलाई पनि भोक, प्यास, डर र पीडा हुन्छ। त्यसैले सुरक्षित ढुवानीको व्यवस्था गर्नु राज्य र सबै सरोकारवाला निकायको दायित्व हो,’ उनले भने।
नेपालमा पशु ढुवानीसम्बन्धी मापदण्ड भए पनि त्यसको प्रभावकारी कार्यान्वयन र नियमित अनुगमन हुन नसकेको नावेसको भनाइ छ। मापदण्ड बने पनि कार्यान्वयन पक्ष कमजोर हुँदा पशुपन्छीले ढुवानीका क्रममा कष्ट भोग्नुपरेको संस्थाको निष्कर्ष छ। पशु ढुवानीलाई व्यवस्थित बनाउन विशेष प्रकारका सवारीसाधन प्रयोग गर्नुपर्ने र त्यस्ता सवारीसाधन खरिद तथा सञ्चालनमा व्यवसायीलाई सरकारी सहुलियत र राजस्व छुट उपलब्ध गराउनुपर्ने जोशीको सुझाव छ। लामो दूरीमा पशुपन्छी ओसारपसार गर्दा बीचबीचमा विश्रामस्थल स्थापना गरी पानी, दाना, आराम र आवश्यक उपचारको व्यवस्था गर्नुपर्ने उनले बताए।
काठमाडौंमा पशु ढुवानीका कारण उत्पन्न हुने फोहोर तथा सरसफाइसम्बन्धी समस्या न्यूनीकरण गर्न चितवन आसपासमा आधुनिक र व्यवस्थित वधशाला स्थापना गर्न सकिने विकल्पसमेत उनले औँल्याए। नावेसले पशु सेवा विभाग, क्वारेन्टाइन कार्यालय, ट्राफिक प्रहरी, पशु खरिद–बिक्री व्यवसायी तथा ढुवानी व्यवसायीबीच समन्वय बढाई पशु ढुवानीसम्बन्धी मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ। पशुपन्छीलाई अनावश्यक पीडा र कष्टबाट जोगाउन सुरक्षित, व्यवस्थित तथा पशुमैत्री ढुवानी प्रणाली विकास गर्नुपर्नेमा संस्थाले जोड दिएको छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
चौथो खेली रोईला दोहोरी प्रतियोगितामा सरोज सिम्खडा प्रथम