पोखरा: नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा पोखराको फेवाताल किनारमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
रोटरी क्लबहरूको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल र जापानका कलाकारहरूले आ–आफ्नो देशका मौलिक कला, संस्कृति, संगीत तथा नृत्य प्रस्तुत गरेका थिए । दुवै देशका कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई नेपाल–जापान मित्रता, सांस्कृतिक एकता र आपसी सद्भावको उत्सवका रूपमा प्रस्तुत गरेको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाल र जापानबीचको सम्बन्ध दशकौँ पुरानो मित्रता, विश्वास र सहकार्यमा आधारित रहेको बताए ।
‘नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धले ७० वर्ष पूरा गर्नु दुई देशका लागि ऐतिहासिक र गौरवपूर्ण अवसर हो । यो सम्बन्ध सरकार र कूटनीतिक तहमा मात्र सीमित छैन, जनस्तरको आत्मीयता, सांस्कृतिक आदानप्रदान, पर्यटन, शिक्षा र विकास सहकार्यसम्म विस्तार भएको छ,’ उनले भने, ‘यस्ता सांस्कृतिक कार्यक्रमले दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्छन् ।’
प्रमुख आचार्यले पोखरा नेपालको पर्यटन राजधानी भएकाले नेपाल–जापान सम्बन्धलाई पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानसँग जोडेर थप उपलब्धिमूलक बनाउन सकिने बताए ।
जापानी पर्यटकका लागि पोखरा आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै उनले पोखराको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन यस्ता कार्यक्रम उपयोगी हुने धारणा राखे ।
नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सात दशक लामो सम्बन्धका क्रममा जापान नेपालको महत्वपूर्ण विकास साझेदारका रूपमा रहँदै आएको छ । जापानले नेपालमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि तथा मानव संसाधन विकासका क्षेत्रमा सहयोग गर्दै आएको छ ।
फेवाताल किनारमा आयोजित सांस्कृतिक कार्यक्रमले नेपाल र जापानबीचको ऐतिहासिक मित्रता, सांस्कृतिक विविधता र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने सन्देश दिएको छ ।

-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
चौथो खेली रोईला दोहोरी प्रतियोगितामा सरोज सिम्खडा प्रथम
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न