logo

बुधबार, मंसिर १० २०८३

kantipurpationlinetv

२०८३ मंसिर १० बुधबार

मुन्थला पूर्णिमा मेलाले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ: अध्यक्ष तिमिल्सिना

मुन्थला पूर्णिमा मेलाले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ: अध्यक्ष तिमिल्सिना


  • बुधबार, मंसिर १० २०८३
  • 0.7K
    SHARES

    गोरखा: गोरखाको गण्डकी गाउँपालिका–८, बेनीगाउँस्थित मुन्थला मन्दिर परिसरमा आयोजित मुन्थला पूर्णिमा विशेष मेला भव्य रूपमा सम्पन्न भएको छ। मेलाको प्रमुख अतिथि रहेका गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ले मुन्थला क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व उजागर गर्न यस्ता मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

    स्थानीय धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको मुन्थला मन्दिरलाई यहाँका बासिन्दाले विशेष श्रद्धाका साथ पूजा गर्दै आएका छन्। स्थानीय मान्यताअनुसार मुन्थला मन्दिरलाई मनकामना देवीको कान्छी बहिनीका रूपमा समेत पुज्ने गरिन्छ। मंसिर पूर्णिमाका अवसरमा यहाँ हरेक वर्ष विशेष पूजा, मेला तथा जात्रा आयोजना हुँदै आएको छ। धार्मिक महत्वसँगै प्राकृतिक सौन्दर्यले समेत आकर्षित गर्ने यस क्षेत्रलाई व्यवस्थित रूपमा प्रचारप्रसार र विकास गर्न सके धार्मिक पर्यटनको सम्भावना बढ्ने देखिन्छ।

    बेनीगाउँ मुन्थला आमा समूहको आयोजनामा सम्पन्न मेलामा जनप्रतिनिधि, स्थानीय अगुवा, समाजसेवी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो। त्यस्तै, विभिन्न सांस्कृतिक झाँकी, फूलको डोली, पञ्चेबाजा र गुरुङ समुदायको मौलिक संस्कृति झल्काउने प्रस्तुतिले मेलाको रौनक थपेको थियो।

    पूर्णिमाका अवसरमा बिहान फूलको डोली निकाल्नुका साथै बत्ती बाल्ने र विधिपूर्वक पूजाआजा गर्ने कार्यक्रमसमेत आयोजना गरिएको थियो। धार्मिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएपछि मेला समापन गरिएको स्थानीय शिशिर गुरुङले जानकारी दिए।

    स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै मुन्थला क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वलाई व्यापक रूपमा चिनाउने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ।

     


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page