काठमाडौं — बुबाको मुख हेर्ने दिनलाई वर्षमा एकपटक मनाइने परम्परागत पर्वका रूपमा सीमित नगरी, हरेक दिन बुबाप्रति श्रद्धा, कृतज्ञता र प्रेम प्रकट गर्नुपर्ने धारणा भागवत मञ्जरी राधिका दासीले व्यक्त गरेकी छिन्।
काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा जारी पशुपतिनाथ मनोकामना पूर्ति तथा संकट मोचन ज्ञानमहायज्ञमा बोल्दै उनले बुबाप्रतिको सम्मान र प्रेम देखावटी र सामाजिक सञ्जाल केन्द्रित हुनु दुःखद प्रवृत्ति भएको उल्लेख गरिन्।
“बुबाको मुख हेर्ने दिन कुनै एक अवसर हैन, हरेक दिन बुबाको चरणमा श्रद्धा प्रकट गर्ने दिन हो,” उनले भनिन्, “फेसबुक, टिकटक वा इन्स्टाग्राममा फोटो पोस्ट गरेर स्टाटस लेख्ने मात्र होइन, बुबालाई जीवितै हुँदा माया, स्नेह र सम्मान दिनुपर्छ।”
उनका अनुसार, आजको समाजमा जीवित बुबालाई बेवास्ता गर्दै वृद्धावस्थामा बोझ ठान्ने, वृद्धाश्रममा पुर्याउने जस्ता प्रवृत्ति बढ्दै गएको छ। यस्तो व्यवहारले हाम्रो सामाजिक तथा पारिवारिक मूल्यमा गम्भीर असर पारिरहेको उनले चिन्ता व्यक्त गरिन्।
राधिकाले बुबाको मुख हेर्ने दिनलाई जबर्जस्ती “Father’s Day” भनिने चलनप्रति पनि आपत्ति जनाउँदै भनिन्, “हाम्रा मौलिक चाडपर्वलाई अंग्रेजीकरण गर्ने प्रवृत्ति बन्द गर्नुपर्छ। यो हाम्रो संस्कृति र परम्पराको अपमान हो।”
उनले बुबाले जीवनभर पसिना बगाएर सन्तानलाई अन्न, शिक्षा, संस्कार र भविष्य सुनिश्चित गरिदिएको स्मरण गराउँदै, “बुबाको आशिर्वाद नै सन्तानको सफलताको आधार हो,” भनिन्। त्यसैले प्रत्येक दिन बुबाको चरण स्पर्श गरेर दिनको शुभारम्भ गर्नुपर्ने सन्देश उनले दिइन्।
“मरेपछि घाँटीमा माला भन्दा बाँच्दाखेरि दिएको थोरै माया धेरै महत्वपूर्ण हुन्छ,” उनले भनिन्, “मृत्युपछि गरिने दानभन्दा जीवित बाबुलाई प्रेम, परिकार र खुसी दिनु नै सबैभन्दा ठूलो धर्म हो।”
उक्त महायज्ञमा देशभरबाट आएका भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ। दैनिक १० हजारभन्दा बढी श्रद्धालु सहभागी हुने गरेको जानकारी दिँदै राधिकाले भक्तजनको श्रद्धाले आफू गौरवान्वित भएको बताइन्।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण