काठमाडौं: काठमाडौं महानगरपालिकाले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम लगायत विशेष अवस्थाका विद्यार्थीलाई आधारभूत तह उत्तीर्ण परीक्षामा सहभागी हुन विशेष सहजीकरण गरेको जनाएको छ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार यस्ता विशेष प्रकृतिका विद्यार्थीलाई होम सेन्टरमार्फत परीक्षा दिन सहज वातावरण मिलाइएको छ। उनले विशेष प्रकृतिका विद्यार्थीका लागि छुट्टै शैक्षिक वातावरण आवश्यक रहेकाले यससम्बन्धी शिक्षण संस्था सञ्चालन गर्ने योजना समेत बनाइरहेको जानकारी दिइन्।
शिक्षा नियमावली, २०५९ अनुसार दृष्टिविहीन, बहिरा, सुस्तश्रवण तथा मनोसामाजिक अपाङ्गता भएका विद्यार्थीलाई उनीहरूले बुझ्ने सांकेतिक भाषामा परीक्षा दिने व्यवस्था गरिएको छ। साथै, आवश्यक परेमा यस्ता विद्यार्थीलाई अधिकतम १ घण्टा ३० मिनेटसम्म अतिरिक्त समय दिने व्यवस्था पनि गरिएको छ।
महानगरले तयार पारेको प्रश्नपत्रअनुसार परीक्षा दिन कठिन हुने विशेष प्रकृतिका विद्यार्थीका हकमा विद्यालयले वैकल्पिक मूल्यांकन मापदण्ड तयार गरी मूल्यांकन गर्न सक्ने व्यवस्था मिलाइएको छ।
चैत ५ गतेदेखि सुरु भएको आधारभूत तह परीक्षाका लागि ५७ वटा परीक्षा केन्द्र सञ्चालनमा रहेका छन्। तीमध्ये ४७ सामुदायिक र १० संस्थागत विद्यालयमा रहेका केन्द्रहरूमा ४९४ विद्यालयका कुल १९ हजार ११७ विद्यार्थी सहभागी छन्, जसमा १० हजार ७४५ छात्र र ८ हजार ३७२ छात्रा रहेका छन्।
यसैबीच, बहिरा तथा विशेष आवश्यकताका विद्यार्थीका लागि केन्द्रीय बहिरा माध्यमिक विद्यालय, नक्सालमै परीक्षा केन्द्र कायम गरिएको छ। त्यस्तै, कारागारभित्र सञ्चालनमा रहेका विद्यालयका विद्यार्थीलाई पनि सुरक्षा संवेदनशीलता ध्यानमा राख्दै सोही स्थानमा परीक्षा दिने व्यवस्था गरिएको महानगरले जनाएको छ।
यस्तै, ‘राष्ट्रका लागि हप्ताको २ घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बाग्मती सफाइ महाअभियानअन्तर्गत शनिबार सिनामंगल क्षेत्रमा सरसफाइ गरी करिब ३ मेट्रिकटन नकुहिने फोहोर व्यवस्थापन गरिएको छ।
उक्त अभियानमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा स्वयंसेवकहरूको सहभागिता रहेको थियो। २०७० साल जेठ ५ गतेदेखि सुरु भएको बाग्मती सफाइ महाअभियान हाल ६७१औँ शृंखलासम्म पुगेको छ।
-
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका चिकित्सक टोली उज्बेकिस्तान प्रस्थान
-
आयुक्त बन्ने आकांक्षाले पूर्व एआईजी शर्माले गरे प्रहरीमाथि कारबाही
-
तालपोखरी जात्रा २०८२ हुदै: २१ औं खुल्ला भलिबल प्रतियोगिता मुख्य आकर्षण
-
कान्तिपुर जनरल हस्पिटलद्वारा एकीकृत समृद्धि नेपाललाई आर्थिक सहयोग
-
गोरखा–२ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीको निर्वाचन खर्च २२ लाख ५५ हजार