logo

बुधबार, असार २४ २०८३

kantipurpationlinetv

२०८३ असार २४ बुधबार

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्री र सेवनमा रोक लगाउन गण्डकी गाउँपालिकाको निर्देशन

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्री र सेवनमा रोक लगाउन गण्डकी गाउँपालिकाको निर्देशन


  • बुधबार, असार २४ २०८३
  • 0.9K
    SHARES

    गोरखा – गण्डकी गाउँपालिकाले विद्यालय क्षेत्रभित्र खैनी, सुर्ती, चुरोटलगायत सुर्तीजन्य पदार्थको बिक्री, वितरण तथा सेवन नगर्न/नगराउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यद्वारा जारी सार्वजनिक सूचनामा सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८, सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली, २०७१ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्री, वितरण तथा सेवन कानुनले निषेध गरेको उल्लेख गरिएको छ।

    सूचनाअनुसार १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा गर्भवती महिलालाई कुनै पनि प्रकारका सुर्तीजन्य पदार्थ बिक्री, वितरण वा निःशुल्क उपलब्ध गराउन पाइँदैन। त्यस्तै, शैक्षिक संस्था, स्वास्थ्य संस्था, बालकल्याण गृह, बाल हेरचाह केन्द्र, वृद्धाश्रम तथा नेपाल सरकारले तोकेका सार्वजनिक स्थानबाट १०० मिटरको दूरीभित्र सुर्तीजन्य पदार्थ बिक्री तथा वितरण गर्न पनि कानुनले रोक लगाएको छ।

    सार्वजनिक स्थान तथा सार्वजनिक सवारीसाधनमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै गाउँपालिकाले विद्यालय सार्वजनिक संस्था भएकाले विद्यालय परिसरलाई पूर्ण रूपमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन निषेधित क्षेत्रका रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ।

    गाउँपालिकाले सबै विद्यालय, व्यवसायी, अभिभावक तथा सरोकारवाला निकायलाई प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गर्न तथा विद्यालय वरपर सुर्तीजन्य पदार्थको बिक्री–वितरण र सेवन रोक्न सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरेको छ।

    प्रमुख प्रशासकीय अधिकृत आचार्यले बालबालिकाको स्वास्थ्य, सुरक्षा र सर्वोत्तम हित सुनिश्चित गर्न सम्बन्धित सबै पक्षले कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताएका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page