logo

बुधबार, असार २४ २०८३

kantipurpationlinetv

२०८३ असार २४ बुधबार

गोरखा नगरपालिकाद्वारा ५० विद्यार्थीलाई छात्रवृत्ति, पाँच श्रमिक पनि सम्मानित

गोरखा नगरपालिकाद्वारा ५० विद्यार्थीलाई छात्रवृत्ति, पाँच श्रमिक पनि सम्मानित


  • बुधबार, असार २४ २०८३
  • 77
    SHARES

    गोरखा । गोरखा नगरपालिकाले सरकारी तथा सामुदायिक क्याम्पसमा अध्ययनरत ५० जना छात्रछात्रालाई नगरस्तरीय छात्रवृत्ति प्रदान गरेको छ। सोमबार आयोजित कार्यक्रममा द्रव्यशाह बहुमुखी क्याम्पस र गोरखा क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई सामूहिक रूपमा छात्रवृत्ति हस्तान्तरण गरिएको हो।

    नगरपालिकाले सञ्चालन गरेको ‘सरकारी तथा सामुदायिक क्याम्पसमा अध्ययनरत छात्रछात्राका लागि नगरस्तरीय छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत द्रव्यशाह बहुमुखी क्याम्पसका २५ र गोरखा क्याम्पसका २५ गरी ५० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको उपप्रमुख मसली माया थोकरले जानकारी दिइन्।

    उनका अनुसार गोरखा नगरपालिका स्थायी बसोबास भएका तथा सम्बन्धित क्याम्पसमा अध्ययनरत जेहेन्दार र आर्थिक रूपमा विपन्न विद्यार्थीलाई प्रतिविद्यार्थी १० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको हो।

    उपप्रमुख थोकरले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइन्। “शिक्षामा सबैको समान पहुँच सुनिश्चित गर्दै जेहेन्दार तथा विपन्न विद्यार्थीलाई उच्च शिक्षामा निरन्तरता दिन सहयोग पुग्ने विश्वास लिएका छौं,” उनले भनिन्।

    यसैबीच, नगरपालिकाले विभिन्न परम्परागत तथा श्रममूलक पेशामा लामो समयदेखि संलग्न पाँच जना श्रमिकलाई पनि सम्मान गरेको छ। श्रमिकलाई प्रोत्साहनस्वरूप जनही ४ हजार ५०० रुपैयाँ नगदसहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ।

    सम्मानित हुनेमा गोरखा नगरपालिका–१२ का पदमबहादुर विश्वकर्मा र निलबहादुर परियार, वडा नं. ५ का पदम गान्धारी, तथा वडा नं. ८ का कमला परियार र खड्कबहादुर विश्वकर्मा रहेका छन्। उनीहरू क्रमशः आरन, सिलाइ तथा सारङ्गी निर्माण एवं वादनजस्ता परम्परागत पेशामा आबद्ध छन्।

    नगरपालिकाका रोजगार संयोजक बद्री बर्तौलाका अनुसार श्रमप्रतिको सम्मान अभिवृद्धि गर्दै परम्परागत सीप र पेशालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले श्रमिक सम्मान कार्यक्रम सञ्चालन गरिएको हो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page