गोरखा — पालुङटार नगरपालिका–४ बाह्रपिर्केमा २ करोड ५५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको कृषि तथा पशु सेवा भवन उद्घाटन गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (READP) को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको भवन आइतबार नगरपालिकालाई हस्तान्तरण गरिएको हो।
नगरप्रमुख विवस चिन्तनले भवन उद्घाटन गर्दै अब कृषि तथा पशु सेवा थप व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनका अनुसार भवन केवल भौतिक पूर्वाधार नभई पालुङटारका किसानलाई गुणस्तरीय सेवा उपलब्ध गराउने महत्वपूर्ण आधार हो।
‘कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि र आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणका लागि नगरपालिका निरन्तर लागिरहेको छ,’ नगरप्रमुख चिन्तनले भने, ‘यसका लागि निर्माण भएका पूर्वाधारको संरक्षण, सदुपयोग र प्रभावकारी सेवा प्रवाहमा सबैको साझा जिम्मेवारी रहन्छ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीका अनुसार आगामी साउन १ गतेदेखि कृषि तथा पशु सेवा शाखाको सम्पूर्ण सेवा नवनिर्मित भवनबाट सञ्चालन गरिनेछ।
उनले आधुनिक मापदण्डअनुसार निर्माण गरिएको भवनबाट कृषि तथा पशु सेवा थप व्यवस्थित, गुणस्तरीय, प्रभावकारी र सेवाग्राहीमैत्री बन्ने बताए।
भवन उद्घाटनसँगै ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले उक्त भवन औपचारिक रूपमा पालुङटार नगरपालिकालाई हस्तान्तरण गरेको छ।
वडा नं. ४ का वडाध्यक्ष मानबहादुर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख बन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत बिसी, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना प्रमुख उत्तम आचार्यलगायतले नवनिर्मित भवनले स्थानीय कृषि तथा पशुपालन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
-
सार्वजनिक बिदाका दिनसमेत खुला रहने बारपाक सुलिकोट गाउँपालिकाको कार्यालय
-
ऐतिहासिक लिगलिगे दौडको प्रारम्भिक स्थलमा सरसफाई तथा वृक्षारोपण सम्पन्न
-
मनसुनजन्य विपद्को जोखिम बढेपछि मर्स्याङ्दी गाउँपालिकाद्वारा उच्च सतर्कता अपनाउन अपिल
-
मर्स्याङ्दी गाउँपालिकाद्वारा कक्षा १–८ का लागि ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक
-
गोरखामा भ्याट र परिवर्तित करबारे अभिमुखीकरण, ९० व्यवसायी सहभागी