logo

शनिबार, साउन २ २०८३

kantipurpationlinetv

२०८३ साउन २ शनिबार

गोरखा पुगेर गृहमन्त्री गुरुङले प्रहरीलाई भने: नागरिकको विश्वास जित्ने गरी काम गर्नुहोस्

गोरखा पुगेर गृहमन्त्री गुरुङले प्रहरीलाई भने: नागरिकको विश्वास जित्ने गरी काम गर्नुहोस्


  • शनिबार, साउन २ २०८३
  • 1.3K
    SHARES

    गोरखा । गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति थप जिम्मेवार र उत्तरदायी बनाउन निर्देशन दिएका छन्। गृहजिल्ला गोरखा भ्रमणका क्रममा शनिबार जिल्ला प्रहरी कार्यालय गोरखाको निरीक्षण तथा अनुगमन गर्दै उनले निष्पक्ष अपराध अनुसन्धान, प्रभावकारी सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन्।

    निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले कुनै पनि प्रभाव वा दबाबमा नपरी कानुनअनुसार निष्पक्ष र विवादरहित अपराध अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरे। उनले नागरिकले प्रहरीबाट छिटो, सहज र विश्वासिलो सेवा पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए।

    ‘प्रहरीको पहिलो दायित्व नागरिकको विश्वास जित्नु हो। त्यसका लागि कानुनको निष्पक्ष कार्यान्वयन, पारदर्शी सेवा प्रवाह र जनउत्तरदायी कार्यशैली आवश्यक छ,’ उनले भने।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुखले जिल्लाको शान्ति सुरक्षा अवस्था, अपराध अनुसन्धान, सेवा प्रवाह तथा कार्यालयका समग्र गतिविधिबारे प्रस्तुतीकरण गरेका थिए।

    निरीक्षण कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख दीपेन्द्रबहादुर जिसी, गण्डकी प्रदेश सशस्त्र प्रहरी बलका प्रमुख प्रविण कडेल, गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय गोरखाका उपअनुसन्धान निर्देशक पवन जोशी, सशस्त्र प्रहरी बल नेपाल नं. २९ गुल्म गोरखाका सशस्त्र प्रहरी नायब उपरीक्षक ढलप्रसाद काफ्ले लगायत सुरक्षा निकायका अधिकारी तथा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो।

    गृहमन्त्री गुरुङले गोरखा भ्रमणका क्रममा जिल्ला प्रशासन कार्यालयको पनि निरीक्षण गरेका थिए। त्यसक्रममा उनले सेवा प्रवाहमा बिचौलियाको चलखेल स्वीकार्य नहुने भन्दै अनियमितता गर्ने जो–कोहीमाथि कडा कारबाही हुने चेतावनी दिएका थिए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page