काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई विस्तार गर्दै नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी गरेको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारीपत्र (एमओयू) गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
हाल नेपाल औषधि लिमिटेडबाट ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन हुँदै आएको छ। मन्त्रालयका अनुसार आगामी चरणमा उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगका औषधि समेत स्वदेशमै उत्पादन गर्ने योजना बनाइएको छ। त्यसका लागि आवश्यक अनुसन्धान तथा विकास (आर एन्ड डी), गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने जनाइएको छ।
मन्त्रालयले कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने र सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ।
समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच नियमित र संस्थागत प्रणालीमार्फत हुने व्यवस्था मिलाइने मन्त्रालयको भनाइ छ। यसबाट सरकारी खरिद प्रक्रिया थप व्यवस्थित हुनुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
मन्त्रालयले नेपाल औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गरिने जनाएको छ।
मन्त्रालयका अनुसार यो पहलले स्वदेशी औषधि उद्योगको प्रवर्द्धन, औषधिमा आत्मनिर्भरता वृद्धि, आयातमा निर्भरता न्यूनीकरण तथा नागरिकलाई गुणस्तरीय र सुलभ अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने सरकारको दीर्घकालीन लक्ष्यलाई सघाउने विश्वास गरिएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने